कात्तिक १०, २०७७
चौताराः सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन्।
दशैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका छन्।
विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता नभएको उल्लेख गर्दै सभामुख सापकोटाले यस वर्षका चाडपर्व कोभिड–१९ लाई परास्त गर्ने संकल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको बताएका छन्।
सभामुख सापकोटाले प्राकृतिक विपत्ति र कोरोना भाइरसका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
वर्षभरि आइरहने चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लखे गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सद्भाव एवं व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गरेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस