२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सिन्धुपाल्चोकमा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा

  • २०७७ कार्तिक ८, शनिबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक ८ २०७७
    चौताराः बिनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा झण्डै ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का अनुसार ८१ हजार सात सय तीन घर बनेका हुन्।

    जिल्लामा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा पुगेको इकाइ प्रमुख सन्तोष निरौलाले बताए। बाँकी १० प्रतिशत घरको पुनर्निर्माण छिट्टै सकिने उनले बताए। भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये निजी अवास पुनर्निर्माणमा सिन्धुपाल्चोक सबैभन्दा अगाडी रहेको उनको ठहर छ।

    उनका अनुसार ६ हजार चार सय १५ घरको पुनर्निर्माण जारी छ। त्यसमध्ये पाँच हजार ६ सय ५० आवास पुनर्निर्माण अन्तिम चरणमा पुग्दा सात सय ६५ घर भर्खरै बनाउन सुरु गरिएको छ। दुई हजार सात सय ७८ घरको पुनर्निर्माण भने अझै सुरु हुन सकेको छैन।

    घर पुनर्निर्माण सकेकामध्ये ७८ हजार तीन सय ५० ले अनुदानको तेस्रो किस्ता लिइसकेको आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार÷जिमाली) का व्यवस्थापक भरत आचार्यले बताए। उनका अनुसार पुनर्निर्माण सकेका तीन हजार तीन सय ५५ घर अन्तिम किस्ता पाउने प्रक्रियामा छन्।

    सिन्धुपाल्चोकमा हाल ९० हजार नौ सय चार लाभग्राही कायम छन्। यसमा रेट्रोफिट (मर्मत) गरिनुपर्ने सात सय दुई घर समेटिएका छन्। ८८ हजार एक सय २६ ले पहिलो र ८४ हजार ६ सय ३० ले दोस्रो लिइसकेका जिमालीको तथ्यांक छ। दुई हजार सात सय २३ घर दोस्रो किस्ता पाउने चरणमा छन्।

    भूमिहीन, विस्थापित र जग्गा किचलो भएका पीडितले आवास पुनर्निर्माण थाल्न नसकेको आयोजना व्यवस्थापक आचार्य बताउँछन्। जिल्लामा सुकुम्वासी, भूमिहीन र बिस्थापित गरी एक हजार दुई सय ८१ जोखिम वर्गमा समेटिएका लाभग्राही छन्। उनीहरु सबैले जग्गा प्राप्ति गरेर घर बनाउन सकेका छैनन्।

    कोरोना महामारी बीच पनि ६ महिनामा चार हजारभन्दा बढी घरको पुनर्निर्माण सम्पन्न भएको तथ्यांक छ। पछिल्ला जनगणनाको घरधुरी संख्याअनुसार भने जिल्लाको पुनर्निर्माण सम्पन्न भइसकेको छ। २०६८ को जनगणनामा जिल्लाको घरधुरी संख्या करिब ६८ हजार मात्र थियो।

    यो संख्याको १३ हजारभन्दा बढी घर बनिसकेको देखिन्छ। भुँईचालोले ९९ प्रतिशत घरसंरचना भत्काएको थियो। भूकम्पपछि जिल्लामा लाभग्राहीको संख्या ७९ हजार मात्र थियो। समय–समयमा गुनासो सम्बोधन तथा छुट र पुनसर्वेबाट ११ हजारभन्दा बढी लाभग्राही थपिएका हुन्। लाभग्राही थपिँदै जाँदा व्यक्तिगत आवास पुनर्निर्माणसमेत लम्बिदै गएको आयोजना व्यवस्थापक आचार्य बताउँछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस