असोज २८, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा दुर्घटना न्यूनिकरणका लागि प्रहरीले बिशेष अभियान सञ्चालन गरेको छ। चाडपर्व नजिकिँदै गर्दा सवारी दुर्घटनामा वृद्धि हुने भएकाले प्रहरीले न्यूनिकरणका लागि अभियान सुरु गरेको हो।
मंगलबार बलेफी गाउँपालिका ७ स्थित खाडीचौरमा एक कार्यक्रम गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफीक प्रहरी कार्यालयले ‘सवारी दुर्घटना न्यूनिकरण अभियान २०७७’ सुरु गरेको हो ।
चाडपर्वका समयमा दुर्घटनाको जोखिम धेरै हुने भएकाले सम्भावित दुर्घटना रोक्न सरोकारवालाहरुसँग साझेदारी गर्दै सचेतना अभियान सुरु गरेकोको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।
सवारी दुर्घटना न्यूनिकरण अभियान आरम्भ समारोहमा स्थानीय सरकार प्मुख, यातायात व्यवसायी, संचारकर्मी र स्थानीय अगुवाहरुले दुर्घटना रोक्न हातेमालो गर्दै जुट्ने उनले बताए।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले सडक दुर्घटनाका क्षति कहालीलाग्दो रहेको स्मरण गर्दै मानविय कारणले नै सवारी दुर्घटना हुने बताए। मानविय संयमता र सावधानीले नै दुर्घटना रोक्न सकिने बताए।
‘मुख्यतः मानविय कारण ले नै दुर्घटना हुने हो, सबै पक्ष ईमानदार भइदिने हो भने दुर्घटना रोक्न सकिन्छ’, प्रहरी प्रमुख अधिकारीले भने, दुर्घटना रोक्न यातायात व्यवसायी, यात्रुबर्ग, चालक, ट्राफीक प्रहरी ईमानदार हुनुपर्छ। दुर्घटना न्यूनिकरणको सबैको अभियान हो।
असावधानी, लापर्वाही, मादकपदार्थ सेवन र मोवाईल फोनका कारण दुर्घटना हुने गरेको उनले बताए। ‘मोवाईल फोन प्रयोग गरेर सवारी चलाउने कुरा मादक पर्दा सेवन भन्दा पनि खतरापूर्ण रहेको अध्ययनले देखाएको’, उनले भने, ‘यातायात व्यवसायीका प्रतिस्पर्धाका कारण पनि सडक दुर्घटना भइरहेको देखिन्छ।’
प्रतिक्रिया दिनुहोस