असोज २०, २०७७
चौताराः सिन्धुपाल्चोकका ३४७ बस्ती पहिरोको उच्च जोखिममा देखिएका छन् । यस वर्षको बाढी पहिरोमा ५६ जनाको मृत्यु, १९ जना घाइते र २८ वेपत्ता भएपछि जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल बनेको थियो ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कमिटीसमेत मिलेर गरेको अध्ययनमा १२ स्थानीय तहका विभिन्न बस्ती पहिरो, बाढीको जोखिममा देखिएको हो।
ती जोखिमयुक्त बस्तीमा ११ हजार १ सय ९ परिवार रहेको र उनीहरूलाई सुरक्षित स्थानमा सार्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। त्यसो त सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपत् संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ । र, विश्व बैंकले दिन लागेको करिब ६ अर्ब रुपैयाँ ती जिल्लामा पुनर्निमाणमा खर्चने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाइसकिएको प्रतिवेदनअनुसार जिल्लाको पश्चिमोत्तर हेलम्बु गाउँपालिकाका २१, पश्चिमी क्षेत्रमा पर्ने मेलम्ची नगरपालिकाका २०, उत्तरमा पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकामा १७ वटा बस्ती जोखिममा रहेका छन् ।
मध्यक्षेत्रको इन्द्रावती गाउँपालिकामा १२ वटा, सदरमुकाम रहेको चौतारा साँगाचोक गढी नगरपालिकामा ४७, जुगल गाउँपालिकामा ३४ र बलेफी गाउँपालिकामा ५२ बस्ती जोखिममा रहेका छन् ।
सुनकोसी गाउँपालिकामा ७, पूर्वी क्षेत्रको लिसङ्खुपाखरमा १८, त्रिपुरासुन्दरी गाउँपालिकामा १८, बाह्रबीसे नगरपालिकामा ३६ र भोटेकोसी गाउँपालिकामा ६४ बस्ती पहिरोको जोखिममा रहेको देखिएको छ।
त्यसमध्ये जुगल गाउँपालिका–२ को लिदी, सानो नाम्फा, जुगल ३ को बोल्दे पहिरोको उच्च जोखिममा रहेको तामाङको भनाइ छ । बोल्देको पुरानो स्कुल, डाँडागाउँ, घट्टेखोला, कुन्डिम्राङमा झण्डै १६० परिवार सार्नुपर्ने भएको छ। गत साउन ३० गते पहिरो गएर ३९ जनाको मृत्यु भएको लिदीको १ सय ६४ घरपरिवार पनि तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएको हो। त्यहाँका पहिरोपीडितहरूलाई अहिले सामुदायिक वन क्षेत्रमा राखिएको छ ।
भोटेकोसी गाउँपालिका–३ को लार्चा, बाह्रबीसे नगरपालिका ५ को जम्बु, मेलम्ची नगरपालिका ४ को ठूलो थकनी, सोही नगरपालिका ४ कै अमले र हेलम्बु गाउँपालिका ५ को बोल्देका गरी १ सय ८८ घरपरिवारलाई तत्कालै सुरक्षित ठाउँमा सार्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस