अमित घिमिरे
असोज ८, २०७७
राणाहरुको पूरो खाएकाहरु
पञ्चायती भजन गाएकाहरु
राजतन्त्रका जन्तीहरु
प्रजातन्त्रका स्वघोषित गान्वाहरु
सबै मिलेर न्वारन गरे
संघीय लोकतान्त्रिक गणतन्त्र ।
र, त्यो कारखानाबाट
वधशालाहरु खोल्न थालियो
अनि चुस्न थालियो आम मान्छेको रगत
गिद्धले सिनो लुसे झै
थुतुनो भिजाउन थाले भुईँमान्छेको आलो रगतले
गरिब, र्सवहार, मजदुर
अनि चरचर्ति पैतला फुटेकाहरुको ज्यानबाट
क्रमशः क्रमशः निकाल्न थाले
मृगौला, कलेजो, मुटु
रगतका सिर्काहरु र आँखाका नानीहरु
आलोपालो सत्ताको विर्ता साट्न
कल्की र श्रीपेच धारण मोहका लाठे लठैतहरुले
विवेकलाई बन्दक बनाएको मुलुकमा
अत्याचारका खिलाफमा एउटा गोविन्द उदायो
र, भन्यो
बरु मेरो मासु लुछ
चोक्टा चोक्टा पारेर खाओ
तर
नागरिकलाई वधशालामा नसेर
नरेट, संघीय लोकतान्त्रिक गणतन्त्र नै रक्तरञ्जित हुने गरी
अतिव्यख्या र अपव्याख्या हुने गरी ।
किन्तु
सत्तान्ध भएका जल्लादहरुले मृत्युपत्र छापिरहे
द्वापर युग हैन कलियुग हो
यहाँ गोविन्दहरु मर्छन तर
राक्षश कंशहरु जितिरहने छन्
दुर्योधनहरु विजयी भई रहने छन्
तर
राणातन्त्रका मलामीहरुले
राजतन्त्रका जन्तीहरुले
प्रजातन्त्रका भतेरेहरु
अनि
संघीयलोकतान्त्रिकगणतन्त्रका पुरेतहरुले
मसान जगाउँदै
यहाँ गोविन्दहरुलाई चपाउँन सक्दैन
जनी गर जाली हो
तिम्रो वधशालाहरु
मानव अङ्गप्रत्यङ् निकाल्ने कारखानामा
आगो सल्काउन करोडौ हातहरु उठेका छन्
युग कलि नै किन नहोस्
जे जसको परिभाषा बदलियोस्
आगोको परिभाषा बदलिएको छैन ।
प्रतिक्रिया दिनुहोस