असोज ६, २०७७
चौताराः ३९ जनाको ज्यान जाने गरी लिदीगाउँमा पहिरोले बस्ती नै पुरेको महिना बित्यो । खोज, उद्धार र राहतसँगै पहिरोपीडित तथा विस्थापितका लागि सेलाङको बाँसखर्कमा डेढ सय परिवारलाई अस्थायी बासस्थान व्यवस्थापन गरियो ।
बाँसखर्कको पाखो टेन्टले भरिभराउ हुँदा बहुसंख्यक लिदीबासी गाउँमै बसिरहेका छन् । उनीहरूले आफ्नो थातथलो छोडेका छैनन् ।
१ सय ३२ घरका ७ सय ६० मध्ये बाँसखर्कको अस्थायी सेल्टरमा २ सय ५९ जना मात्र भेटिए । पहिरोले घरबास उठाएकाहरू बाँसखर्कमै छन्, परिवारका एक जनालाई बाँसखर्कमा राखेर अधिकांश स्थानीय गाउँमै बसोबास गर्दै आएका छन् । राहत सामग्री लिन बाँसखर्कमा परिवारका एक जना बस्छन्, अरू लिदीगाउँमै छन् ।
स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले लिदीगाउँका विस्थापितलाई अस्थायी बसोबासका लागि बाँसखर्कमा टेन्ट राखिदिए पनि लिदीबासीले थातथलो भने छाडेनन् । तत्काल अस्थायी बसोबासका लागि बाँसखर्कमा व्यवस्थापन त भयो तर झन्डै सय परिवारका ३ सय ३६ जना बाँसखर्क नआएको समाचार आजको नेपाल समाचारपत्र दैनिकले लेखेको छ।
‘उहाँहरूको अस्थायी बसोबासका लागि बाँसखर्कमा हामीले व्यवस्थापन गरेका हौं, केही संख्यामा लिदीबासी गाउँमै हुनुहुन्छ भन्ने मैले पनि सुनेको छु।’ –जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भने।
लिदीगाउँसँगै जुगल गाउँपालिकाभित्र सयौं घरपरिवार पहिरोको जोखिममा रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि गाउँपालिकाले आन्तरिक तयारी थालिसकेको अध्यक्ष श्रेष्ठ बताए। । भूगर्भविद् ल्याएर भू–अध्ययन गरी सम्भव भएसम्म साविकको बस्तीनजिकै जोखिमका जनतालाई पुनःस्थापना गर्ने जुगलको तयारी छ ।
त्यसो नभए सम्बन्धित वडाभित्र र वडाभित्र पनि उपयुक्त ठाउँ नभेटिए गाउँपालिकाभित्र कुनै पनि स्थानमा जोखिमका जनतालाई स्थायी स्थानान्तरण गरिने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । ‘उपयुक्त ठाउँ पहिचान गर्दै छौं, सम्भव भएसम्म स्थानीयलाई सहज र सुविधा हुने गरी स्थायीरुपमा स्थानान्तरण गर्नेछौं’, अध्यक्ष श्रेष्ठले भने– ‘परिवार संख्याका आधारमा घर संचना तयार गरिदिनेछौं ।’
यसअघि २०७२ को विनाशकारी भूकम्पपछि लिदीबासी विस्थापित भएर बाँसखर्कमै आएका थिए । केही महिना बाँसखर्क बसेर उनीहरू गाउँ फर्किएका थिए । यसअघि नै टेन्टको असहज बसाइँ भोगेका उनीहरू टेन्टमा बस्न यसपटक नआएका हुन् ।
पहिरोले घरगोठ क्षति गरे पनि बँँचेका गाईवस्तु, भेडाबाख्रा सम्हाल्नका लागि बहुसंख्यक लिदीबासी गाउँमै बसोबास गरिरहेका हुन् । ‘गाईवस्तु हेर्नुप¥यो, खेतीपाती उतै छ’, बाँसखर्कमा बस्दै आएकी सुकुमाई योञ्जनले भन्नुभयो– ‘परिवार उतै छन्, म मात्र यहाँ बस्दै आएको छु ।’
पहिरोमा परी ज्यान गुमाएकाहरूको ४५ दिनको तिथि नजिकिँदै गर्दा मृतकका परिवार पनि गाउँ फर्कन थालेका छन् । दीर्घरोगी, सुत्केरी, गर्भवती र अपांगहरूलाई टेन्टको चिसोमा बस्न समस्या हुने भएपछि उनीहरू गाउँकै घरमा बसेका हुन् । लिदीगाउँका पहिरो प्रभावितमध्ये १५ जना अपांग, १३ जना गर्भवती, ४ जना सुत्केरी र ६ जना दीर्घरोगी छन् ।
प्रतिक्रिया दिनुहोस