२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सुविधायुक्त विद्यालय भवनले दियो खुसी

Thumbnail
  • २०७४ आश्विन ९, सोमबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    ९ असोज २०७४, सिन्धुपाल्चोक ।

    पिलरवाला दुई तले भवन । माथिल्लो तलामा ट्रस सहितको रातो रङको जस्ताको छानो । बाहिर पँहेलो र कक्षाकोठामा सेतो रङ । बाहिर खुल्ने ढोका सहितका उज्याला र फराकिला कक्षाकोठा । भुईतलामा ह्विल चियर सजिलै जान सक्ने गरी बनाइएको ¥याम । कक्षा कोठामा विजुली बत्तिको व्यबस्था । अपाङ्ग मैत्री शौचालय । विद्यार्थीको उमेर समूह अनुसारका बालमैत्री धारा । बालमैत्री कक्षाकोठा ।

    यी विशेषता भूकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– २ र ३ मा बनेका सामुदायिक विद्यालय भवनका हुन् । जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा मर्सि रिलिफ सिंगापुरको आर्थिक सहयोगमा लकस नेपाल ललितपुरले बलेफी गाउँपालिका वडा नम्बर २ को फुल्पिङकोट माध्यामिक विद्यालयमा १० कोठे भवन र वडा नम्बर ३ धुस्कोटको च्यानडाँडा आधारभूत विद्यालयमा ७ कोठे भवन निर्माण गरेको छ ।

    भूकम्पपछि गाउँ गाउँमा निर्माण भैरहेका सामुदायिक विद्यालयका भवनहरु विगतका भन्दा बढी सुविधा सम्पन्न र सुरक्षित छन् । फुल्पिङकोट माविमा स्थानीय लगानी ९ लाख ७८ हजार सहित एक करोड ४६ लाख ८७ हजार ७ सय ९ रुपैंयाँको लागतमा १० कोठे विद्यालय भवन र शौचालय निर्माण भएको लकस नेपालका कार्यक्रम संयोजक शोभा शाक्यले बताइन् ।

    उनले भनिन्, ‘जागृत विद्यालय र समुदाय पुननिर्माण परियोजना अन्तर्गत हामीले दुई वटा विद्यालयमा १७ कक्षा कोठा सहितका दुई वटा भवन र शौचालय निर्माण गरिएको हो । च्यानडाँडा आधारभुत विद्यालयमा ७ लाख ९ हजार २ सय स्थानीय लगानी सहित एक करोड २ लाख ३८ हजार ५ सय ८४ रुपैंयाँको लागतमा ७ कोठे भूकम्प प्रतिरोधी भवन निर्माण भएको छ ।’

    २ करोड ४९ लाख २६ हजार २ सय ९३ रुपैंयाँको लागतमा बनेका दुई वटा विद्यालय भवन सामाजिक लेखा परीक्षण गरेर विद्यालय व्यबस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारले २०६७ सालमा जारी गरेको सार्वजनिक परीक्षण कार्यविधि अनुसार सामाजिक लेखा परीक्षण गरेर नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तान्तरण गरिएको कार्यक्रम संयोजक शोभा शाक्यले बताइन् । च्यानडाँडा आधारभुत विद्यालयको भवन पूर्व मन्त्री तथा सांसद अग्नी प्रसाद सापकोटाले र फुल्पिङकोट माविको भवन जिल्ला शिक्षा अधिकारी गौरीशंकर पाण्डेले हस्तान्तरण गरेका छन् ।

    भूकम्प प्रतिरोधी भवन निर्माण भएपछि स्थानीयले मनोबल बढेको प्रतिक्रिया दिएका छन् । सुरक्षित भवन बनेका कारण अब आफ्ना बालबालिकालाई ढुक्कसँग विद्यालय पठाउने अभिभावकहरुले बताए । भवन नभएका कारण भूकम्पपछि विद्यालयमा विद्यार्थीको सँख्या समेत कम हुँदे गएकोले सुरक्षित भवन बनेपछि अन्यत्र गएका विद्यार्थीहरु पनि फर्केर आउने अपेक्षा गरिएको फुल्पिङकोट माविका प्रधानाध्यापक अमित कुमार राउतले बताए ।

    पूर्व मन्त्री तथा सांसद अग्नी प्रसाद सापकोटाले विद्यालय भवन र बालबालिकाको सुरक्षाको लागि घेरबार गर्न र भवनपछाडीको भागमा पहिरो रोकथामका लागि संसद विकास कोषको बजेट बिनियोजन गर्ने प्रतिवद्धता गरे । उनले भने, ‘धुस्कोटमा यति भव्य भवन बनेको छ । यसको दिगो प्रयोग र मर्मतको जिम्मा स्थानीयको हो । भवन, खेलमैदान र विद्यार्थीको सुरक्षाका लागि गर्नु पर्ने कामका लागि अन्य निकायसँग समन्वय गर्ने र संसद विकास कोषको बजेट पनि छुट्याउने प्रतिवद्धता गर्छु । हामी धुस्कोट नमुना बनेको हेर्न चाहन्छौं ।’

    जिल्ला शिक्षा अधिकारी गौरीशंकर पाण्डेलेबालबालिकाको भविष्यलाई महत्वपूर्ण ठानेरआफु टहरामैं बसेर पहिला विद्यालय भवन निर्माण गरेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘अझै धेरै विद्यालय धमिराले खाइसकेको, धुलो खस्ने, वर्षामा पानी पस्ने र गर्मीमा अत्याधिक गर्मी हुने खालका टहरामा सञ्चालन भैरहेका छन् । यसैगरी दातृ निकायको साथ पायौं भने हामीले अबको केहि वर्षभित्रै सिन्धुपाल्चोकका सबै विद्यालयमा आवश्यक भवन बनाइसक्छौं ।’

    मर्सि रिलिफका बरिष्ठ कार्यक्रम व्यबस्थापक मासाहिरो इसिजाकीले विद्यालय समाजको महत्वपूर्ण सम्पत्ती भएको बताए । उनले भने, ‘मर्सि रिलिफ नामैले विपद्का समयमा राहत उपलब्ध गराउने संस्था हो । तर विद्यालय नैं समाजको ठूलो सम्पत्ती भएकोले राहतसँगै पुननिर्माणको काममा पनि सहयोग गरेको हो । अब यस भवन मार्फत विद्यार्थीलाई असल शिक्षा दिँदै भवनको सहि प्रयोग, दिगो व्यबस्थापन र मर्मत सम्भार गर्दै आउँदो पुस्ताका लागि हस्तान्तरण गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’

    जिल्ला शिक्षा कार्यालय मातहतबाट गएको वर्ष एक सय ४ वटा विद्यालय भवन निर्माणको काम अगाडी बढेको र यस वर्ष पनि थप एक सय ४ वटा विद्यालय भवन निर्माण कार्य अगाडी बढ्ने जिल्ला शिक्षा अधिकारी पाण्डेले बताए । उनले भने, ‘एक वर्षभित्रै १७ कोठा सहितको भूकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न गर्नु चानचुने कुरा होइन । संघसंस्थाको यस किसिमको सहयोगबाट मात्रै विद्यालय पुननिर्माणका लागि सरकारले लिएको लक्ष्य समयमैं पूरा हुन्छ ।’

    जागृत विद्यालय र समुदाय पुननिर्माण परियोजनाले भवन निर्माण गर्नु अघि डकर्मीहरुका लागि ७ दिनको सुरक्षित निर्माण सम्बन्धी तालिम, विपद जोखिम न्यूनिकरण र खानेपानी तथा सरसउफाई सम्बन्धीको तालिम समेत प्रदान गरेको च्यानडाँडा आधारभुत विद्यालयका व्यबस्थापन समिति अध्यक्ष विनोद तामाङले बताए ।

    तस्वीर : विनोद शर्मा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस