२२ भदौको त्यो दिन
म सडक नागरिक (दिमागी अबयव गुमेका, लावारिस, टुहुरा, भुईँमान्छे)हरुको खोजीमा काभ्रेपलाञ्चोकको बनेपा गल्लीभित्र छिरें ।
चार दोबाटोको पनौति जानेपट्टी ८, ९ वर्षका ३ जाना केटाहरु प्लाष्टिकमा डेनड्राईन हालेर सुँघिरेको देखें । त्यो दृष्यले मलाई मर्माहत तुल्यायो । मैले फोटो खिच्न लागेपछि उनीहरु ओझेलिने यत्न गरे । ती मध्येका ठूलो केटोले भन्यो– ‘……..पत्रिकामा छाप्छ ।’
‘…………म पत्रकार हैन । …ल फोटो खिच्दिन । तिमीहरुलाई म केही खुवाउँछु । भन के खान्छौं ?’
मुखामुख गरेर केही बेर उनीहरु दंग परे । सबैभन्दा सानोले भन्यो, ‘मासुभात…..’
यसोरी हामी आत्मीक भयौं । त्यसपछि मैले फोटो पनि खिचे र उनीहरुको संक्षिप्त अन्तरवार्ता पनि लिए । उनीहरुका अनुसार उनीहरु सिन्धुपाल्चोक जुरेका थिए ।
यो घटना मैले १३ सेप्टेम्बर २०१७ मा फेसबुक पोष्ट गरे । एकाएक त्यो भाइरल भयो । ‘मोनिका चिमरिया’ले त्यसलाई शेयर गर्नु भयो र यो स्टाटस लेखुञ्जेल त्यो क्रमशः १४०५ जनाले शेयर गर्नु भयो । १ लाख २७ हजार भन्दा बढीले त्यसलाई हेर्नुभयो । मलाई २३ कल फोन आयो स्वदेश तथा विदेशबाट ।
भोलिपल्ट नै सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाकी ‘मीना अधिकारी’ उद्दार गर्न पुग्नु भयो । मीनाजी सँग पनि उनीहरुले मासुभात खाने रहर जाहेर गरेछन् । उहाँले ख्वाएर अब मसँग जाऊ भन्दा बहाना बनाएर भागेछन् । उहाँलाई सादर सलाम । विदेशमा रहनु भएकी ‘सिर्जना थिङ, ‘सोनमनोर्वु तामाङ, ‘कुमार लामा सिन्धुपाल्चोककै तर हाल तेह्रथुम बस्दै आउनु भएका ‘दीपकविक्रम शाही, बाँडेगाउँका ‘उमेश अधिकारी’ले देखाउनु भएको करुणा तरिफेकाबिल छ । उहाँहरुलाई मेरो सलाम ।
पोष्ट देखेपछि केन्द्रीय बाल कल्याणका शाखा अधिकृत ‘सन्तोष अधिकारी’ले भगिरथ यत्न गरेर मसंग सम्पर्क गर्नु भयो र ती केटाहरुको लोकेशन माग्नु भयो । तिनीहरुलाई उद्दार गर्न सफल हुनुभयो । उहाँ लगायत टीमलाई धन्यवाद र वधाई । सरकारको धुकधुकी चलिरहेको रहेछ भन्ने यकिन मलाई पनि भएको छ ।
बनेपाबाट उहाँहरुले ७ जनालाई लानु भएछ । अब ती अवोधको हातमा कपी कलम हुने छ, तिनीहरु योग्य नागरिक भएर निस्कियूँन । मैले जुन सन्तुष्ठि पाएको छु त्यसको मापन छैन । अपितु संगै दुःखी पनि छु । हाम्रा जिल्लाका खासगरी सदरमुकाममा खतरनाकरुपले लागुऔषधको दुव्र्यसनी बढिरहेका छन् । तर सम्बन्धित निकायलाई कुनै मतलब र चासो नै छैन । सुचित गर्न गयो भने ‘किटानी जाहेरी ले’ भन्छ । खुलारुपमा मेडिकलबाट औषधि किनेर खाने देखि ‘ब्राउन सुगर’समेत भित्रिएका खबरहरु आएका छन् । अभिभावक विहीन जिल्ला हो यो । यहाँ फगत तस्कर, कमाऊमा केन्द्रीत छन् । त्यो दिन टाढा छैन ती बालकलाई जस्तै यहाँका दुव्र्यसनीहरुलाई अरुले उद्धार गरिने दिन । र अनि यहाँका सत्ताधारी, गैर सत्ताधारी, बर्दीधारी कुर्सीधारी र विस्तारवादी एनजीओ आईएनजीओका षण्डहरु मिलेर हाँस्दै–मुस्कुराउँदै पुनस्र्थापना केन्द्रको रिवन काट्ने छन् । परन्तु आशा गरुँ कोही नायक जन्मने छ, कुनै न कुनै देशभक्त, प्रशासक, जनप्रतिनिधि आउने छ– जसले जिल्लालाई समुन्नत बनाउने छ ।
भदौ २१ गते देखि असोज ४ गतेसम्मको यो प्रहरमा मलाई उत्प्रेरित गर्ने ‘मोनिका चिमरिया, ‘सन्तोष सर, ‘गंगाजी, ‘अनामिका सजल, ‘सिर्जना थिङ, ‘सोनमनोर्वु तामाङ, ‘मीनाजी, ‘दीपकविक्रम शाही, ‘कुमार लामा, ‘उमेश अधिकारी, फोन गर्ने र फेसबुकमा सम्पर्क गर्ने सबैलाई, लाईक, शेयर र कमेन्टमार्फत उर्जा दिने, खिसी गर्ने, फेक हो यो भन्ने सबै–सबैमा नमन ।
प्रतिक्रिया दिनुहोस