भदौ २८, २०७७
चौताराः सभामुख अग्निप्रसाद सापकोटाले बाढी पहिरो पीडितहरूका लागि एकीकृत, केन्द्रीकृत कार्य योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसे घुम्थाङको पहिरो निरीक्षण र उद्धारका लागि पुगेका सभामुख सापकोटाले सिन्धुपाल्चोकमा भएको एकपछि अर्को प्राकृतिक विपद्लाई सामान्य प्रकोपको रूपमा लिन नहुने बताएका हुन्।
बाढी र पहिरोपीडितहरूलाई सम्बोधन गर्दै तत्कालीन अल्पकालीन र दीर्घकालीन खाकासहितको पाइलट योजना बनाउन आफूले पहल गर्ने आश्वासन समेत दिए।
नागपुजे र भीरखर्कका पहिरोपीडितहरूलाई अस्थायी व्यवस्थापन गर्दै सम्पूर्ण पीडितहरूका लागि स्थायी समाधानको रूपमा एकीकृत मोडेल तयार गर्न आफू लागि परिरहेको पनि बताए।
आफ्नो गृह जिल्लामा भएको प्राकृतिक विपत्तिलाई सामान्यरुपमा नलिन उहाँले सङ्घीय सरकारलाई आग्रह गरे।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा न ७ नागपुजे र भीरखर्कमा अविरल वर्षासँगै गए राति खसेको पहिरोमा परि हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने १९ जना अझै बेपत्ता छन् । नेपाली सेना,सशस्त्र र जनपथ प्रहरीले बेपत्ताहरूको खोजी र उद्धार कार्य जारी राखेको छन् ।
प्रतिक्रिया दिनुहोस