२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

लामो दूरीका सार्वजनिक यातयात सञ्चालन गर्न व्यवसायीको अनिच्छा

  • २०७७ भाद्र १९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • भदौ १९, २०७७
    काठमाडौंः आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् ।

    स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन् । कोभिड–१९ सङ्क्रमित दैनिक बढ्दै गएकाले यसै भन्न नसकिने अवस्था नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । यातायात व्यवस्था विभागले पनि कोरोना प्रभावको हालको अवस्था हेर्दा सञ्चालन हुनसक्छ नै भन्न नसकिने जनाएको समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ।

    विभागमा महानिर्देशक गोगनबहादुर हमालले भने, ‘अहिले विभाग पनि पूर्ण आइसोलेसनमा छ । असोज १ बाट खुला गर्ने त भनिएको छ । कोरोनाको प्रभाव बढ्दै गयो भने त के खुल्ला र?’
    तर यातायात व्यवसायीले भने सरकार गम्भीर नभएको आरोप लगाएका छन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, ‘पहिला पनि सञ्चालन गर्ने भनेर दुईपटक सम्म सरकारले भनेको हामीले गाडी मर्मत गरेर तयारी गरेकै हो तर सञ्चालन भएन । अहिले पनि सञ्चालन हुन्छ भन्ने के ग्यारेन्टी रु यसरी पटकपटक गाडी मर्मत गर्दै थन्काउँदै गर्नसक्ने अवस्थामा हामी छैनौँ ।’

    करिब छ महिना बन्द भएका लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनलाई सरकारले अहिलेसम्म कुनै राहत नदिएको व्यवासायीले गुनासो गरेका छन् । सार्वजनिक यातायातलाई पहिला अति प्रभावित क्षेत्रमा राखिएको तर पछि मध्यम प्रभावितमा राखेर राहत तथा सुविधाबाट वञ्चित गर्न खोजिएको व्यवसायीको भनाइ छ ।

    स्वाँरका अनुसार सरकारले मध्यम प्रभावित भनिदिएपछि बैङ्कले कर्जा तथा ऋणको किस्तामा कुनै सुविधा दिँदैनन् । स्वाँर भन्छन्, ‘अहिलेसम्म कुनै निकायबाट हुनै राहत पाएका छैनौँ । बैङ्कले कर्जाको पुनर्तालिका गर्नसमेत मानेका छैनन् । सरकारले गरेको घोषणा, सहमति र मौद्रिक नीतिले व्यवस्था गरेका कुरा पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।’

    गाडी सञ्चालन भएको अवस्थामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारेमा व्यवसायीले कुनै तयारी थालेका छैनन् । मास्क तथा सेनिटाइजर प्रयोगको कुरा सामान्य भयो तर यात्रुको व्यवस्थापन कसरी गर्ने सबै सिटमा यात्रु राख्न पाइने÷नपाइने, बीचबाट यात्रु चढाउन पाइने÷नपाइने कुनै कुराको टुङ्गो नभएको महासङ्घले जनाएको छ ।

    सामाजिक दूरी कायम गर्न तत्कालका लागि सरकारले ५० प्रतिशत भाडा वृद्धि गरिएको थियो । यातायात मजदुरको एक लाख रुपियाँको कोरोना बीमामा सरकारले ५० र यातायात व्यवसायीले ५० प्रतिशत अनुदान गर्ने सहमति छ ।

    यातायात श्रमिकको कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका निम्ति सरकारका तर्फबाट कोष स्थापनाका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पहल गर्ने सहमति भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस