भदौ १४, २०७७
बेइजिङः चीनमा एक सातामा सयभन्दा कम नयाँ संक्रमित भेटिएका छन्। अगस्ट २३ देखि २९ सम्ममा ८० जना नयाँ संक्रमित थपिएका हुन्।
चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार ९ जनामा संक्रमण पुष्टि भएको छ। ती सबै अन्य देशबाट आएका बिरामी भएको सीजीटीएनले जनाएको छ। त्यस्तै २७ जनाका निको भएर डिस्चार्ज भएका छन्।
राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार लगातार अगस्ट २७ र २८ मा पनि ९ जना नै संक्रमित भेटिएका थिए भने २६ अगस्टमा ८ जना थप संक्रमित भेटिएका थिए। अगस्ट २५ र २४ मा क्रमशः १५ र १४ जना नयाँ संक्रमित थपिएका थिए। त्यस्तै अगस्ट २३ मा साताभरिकै सबभन्दा धेरै १६ जना संक्रमित भेटिएका थिए।
यसैबीच चीनमा दुई सातादेखि लगातार स्थानीय रूपमा संक्रमण फैलिएको छैन। अगस्ट १६ देखि हालसम्म स्थानीय रूपमा संक्रमण नभेटिएको हो। अगस्ट १५ मा भने ४ जना स्थानीय रूपमा संक्रमित भएका थिए।
यस तथ्यांकले चीनमा महामारी नियन्त्रणमा रहेको देखिएको छ। गत डिसेम्बरदेखि फैलिएको कोरोना भाइरसबाट हालसम्म चीनमा ८९ हजार ८५५ संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ४ हजार ७२१ ले ज्यान गुमाएका छन्। त्यस्तै ८४ हजार ४७६ निको भइसकेका छन्। एजेन्सी
प्रतिक्रिया दिनुहोस