भदाै १२, २०७७
चाैतारा: मेलम्ची नगरपालिकाले बर्षात पछि आएको पहिरो र बाढीबाट प्रभावितहरूको घर दैलोमै पुगेर अनुगमन गर्न सुरु गरेको छ ।
९ गते बसेको नगर बिपद व्यवस्थापन समितिको निर्णय बमोजिम जोखिमयुक्त घर तथा बस्तीको नगर प्रमुख डम्बर अर्याल सहितको टोलीले बिहीबारबाट अनुगमन थालेको हो ।
तत्काल बाढी पहिरोबाट विस्थापित भएका तथा जोखिममा रहेका बस्तीहरूको पहिचान गरिने र तत्काल समाधानका उपायहरू अपनाउने नगर प्रमुख अर्यालले जानकारी दिए । आवश्यक सहयोगको लागि जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारलाई समेत विवरण पठाइने छ ।
कार्यदलमा उपप्रमुख भगवती नेपाल, ६ नं वडाध्यक्ष जितराज थापा ,३ का अध्यक्ष वसन्त गुरुङ, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङ रहेका छन्। कार्यदलले १५ दिन भित्र प्रतिवेदन पेस गर्ने भवन तथा बिपद व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर जित बहादुर कार्कीले बताए।
अमलेबस्तीका १५ घर सार्नुपर्ने प्रतिवेदन
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४, अमलेबस्ती खनाल गाउँका १५ घर पहिरोको जोखिममा परेपछि अध्ययन गर्न गएको टोलीले प्रतिवेदन पेस गरेको छ । १५ मध्ये ५ घर तत्काल स्थानान्तरण गर्नुपर्ने र बाँकीलाई पनि सार्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय चौताराका कार्यालय प्रमुख दिवाकर मास्केको नेतृत्वमा अध्ययनको लागि स्थलगत रूपमा खटिएको टोलीले बिहीबार प्रतिवेदन पेस गरेको हो । प्रतिवेदनमा स्थानीय रामप्रसाद न्यौपाने र माधवराज खनालको घर पहिरोले पुरिसकेकोले उनीहरू अन्यत्र बसिरहेको उल्लेख छ ।
सोही टोलका लेखतबहादुर खनाल, कृष्णबहादुर खनाल र लुमडीप्रसाद न्यौपानेको घर भने चर्किएर बस्न नमिल्ने भएको छ । उनीहरू भने दिउसो सोही घरमा बस्ने गरेको र राती मात्रै अन्यत्र सुत्न जाने गरेको प्रतिवेदनमा उल्लेख छ । बाँकी १० घर पनि पहिरोको उच्च जोखिममा छ ।
प्रतिवेदन अनुसार सो स्थानमा गाउँको बिच भागबाट २०७३ सालमा नै सडक खनिएको थियो । सडक खनेपनि नाली नखन्दा वर्षाको पानीले निकास नपाउँदा करिब १ किलोमिटर क्षेत्रमा १५ भन्दा बढी पहिरो झरेको छ ।
भिरालो जमिनमा बस्ती बसालिएको र बलौटे माटो भएको कारण पहिरोको जोखिम ज्यादा देखिएको अनुगमन समितिका संयोजक दिवाकर मास्केले बताए । वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्दा यस्तो जोखिम आएको समितिको निष्कर्ष छ । रेडियो नेपालबाट
प्रतिक्रिया दिनुहोस