भदौ ५, २०७७
अमित घिमिरे
सेता लिवासमा लपेटिएका
यो मुलुकको स्वाधीनताका लागि
संघीयलोकतान्त्रिकगणतन्त्रका लागि
रेटिएको, सेरिएको, मारिएका
र
पति वेपत्ता पारिएका चेलीका लागि
भो तीज नआईज रुवाउन ।
हुँदामात्र खान पाउनेहरुका लागि
मेलापात, गाईगोठ
अनि गाउँगोठमा हराएकाहरु लागि
बाह्रमास दश नङ्ग्रा खियाएर पनि
दुई गाँस मीठोमसिनो नभेट्नेका लागि
मेवा मिष्ठान्न चौरासी व्यञ्जनका किस्सा लिएर
दाम्रो पेट, गुन्द्रुक ढिडो नभेट्नेका लागि
भो तीज नआईज रुवाउन ।
सबै पठ्ठीहरु कहाँ सभ्रान्त हुन्छन् र
आँखीभौ खौरेर, नाइटामा मुन्द्री छेडेर
घण्टैपिच्छे ठिटा फेर्दै
होटल रेष्टुँरा चिसो पार्दै भिजाउँदै हिँड्नेहरु
र
अनि मक्किएको चोलीले लाज ढाक्ने
दुवै एकै कहाँ हो र ?
चार इन्चको टालोमा हर्रर परफ्यूम महकाउँदै
गोजीमा कण्डोम र इकोन बोकेर
कुत्कुतिनेसंग अर्धानोको समतुल्य हुँदैन
नाङ्गाहरु र भोकाहरुको विपनामा
देखासेकीको पर्व बनेर
भो तीज नआईज रुवाउन ।
माईती नभकी चेली
माईतीमा सानीआमा भएकी चेली
लोग्ने बाहेक कोही नभएकी चेली
र त्यही पुरुष पनि विसंगतीमा लागेको चेली
गहनाको नाममा
एक लुङ्ग पोते मात्र भएकी चेलीहरुका लागि
झकिझकाऊ भएर नआइज तीज
भो तीज नआईज रुवाउन ।
सेता लिवासमा लपेटिएका
यो मुलुकको स्वाधीनताका लागि
संघीयलोकतान्त्रिकगणतन्त्रका लागि
रेटिएको, सेरिएको, मारिएका
र
वेपत्ता पारिएका चेलीका लागि
भो तीज नआईज रुवाउन ।
प्रतिक्रिया दिनुहोस