भदौ ५, २०७७
चौताराः सिन्धुपाल्चोक जिल्लामा दुई सय ४२ बस्ती बाढी तथा पहिरोको जोखिममा रहेको पाइएको छ। बिहीवार बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीहरुको पहिचान र स्थानान्तरण सम्बन्धी समन्वय बैठकमा यो तथ्यांक सार्वजनिक गरिएको हो ।
पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरुले गरेको अध्ययनअनुसार यो तथ्यांक आएको हो । तथ्यांक अनुसार भोटेकोशी गाउँपालिकामा ४९, बलेफी गाउँपालिकामा १४, बाह्रविसे नगरपालिकामा २३ र चौतारा साँगाचोकगढी नगरपालिकामा ४ वटा बस्ती जोखिममा छन् ।
त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंखुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङपालमा ३२, सुनकोशीमा १ र त्रिपुरामा ४ बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।
यी मध्ये प्राविधिकहरुले ७१ बस्ती रेड जोनमा, ७५ बस्ती एल्लो जोन र ७६ बस्तीलाई ग्रिन जानेमा राखेको उनले बताए ।
जुगल र बाह्रविसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । जुगलको लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने भएको छ । त्यस्तै बाह्रविसे गाउँपालिकाका ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गरिन लागिएको हो ।
स्थानान्तरणको माग
सिन्धुपाल्चोकका जनप्रतिनिधीहरुले बाढी पहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्।
बिहीवार चौतारामा बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीहरुको पहिचान र स्थानान्तरण सम्बन्धी समन्वय बैठकमा उनिहरुले यस्तो माग गरेका हुन। बस्ती स्थानान्तरण गर्दा जिबिकोपार्जन तर्फपनि ध्यान दिनुपर्नेमा जोड दिएका छन ।
बाढी पहिरोको उच्च चपेटामा परेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ बढी मानिसको मृत्यु भइसकेको छ । सयौँ घरबार बिहिन बन्न पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस