२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

प्राधिकरण भन्छ : पानीको निकास नहुँदा लिदीमा बस्ती नै पुरियो

  • २०७७ श्रावण ३२, आईतबार मा प्रकाशित ४ साल अघि
  • साउन ३२, २०७७
    चौताराः सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। भूकम्पपछि बस्ती उच्च जोखिममा रहे भए पनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको भन्‍ने टिप्पणी भइरहेका बेला प्राधिकरणले यस्तो बताएको हो।

    प्राधिकरणका कार्यकारी समिति सदस्य डा। चन्द्र बहादुर श्रेष्ठले पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गएको बताए। त्यस ठाउँमा भूकम्प लगत्तै पहिरो गएको उनले उल्लेख गरे। ‘प्राधिकरणको नेतृत्वमा त्यति बेला अध्ययन भएको थियो ।

    ‘अध्ययनले बस्ती केही पनि गर्न नपर्ने गरी १ नम्बर क्याटागोरीमा देखायो’ उनले भने, ;त्यसपछि फेरि प्राधिकरणले अध्ययन गर्दा बस्ती नै सार्न नपर्ने तर पर्खाल लगाएर केही सुधार गर्नुपर्ने देखिएको थियो। क्याटेगोरी २ मा थियो । बस्ती नै सार्नुपर्ने अवस्था थिएन।’

    पानीको उचित निकासका लागि स्थानीय सरकारले काम नै गर्न नसकेको उनले बताए। ‘लिदीमा पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गयो । पानीको निकास भएको भए पहिरो जाने थिएन । पानी फर्काएर खोल्सोमा पठाउने व्यवस्था स्थानीय सरकारले गरेको भए पहिरो जाने थिएन,’ उनले भने।

    नेपालमा ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका बस्तीहरुको पहिरोको उच्च जोखिममा रहे पनि लिदीको अवस्था त्यस्तो नभएको उनको भनाई छ । लिदीमा पहिरोले ३७ घर ध्वस्त पारेको छ । ठूलो जनधनको क्षतिसमेत गरेको छ । भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, काभ्रे लगायत १४ जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।

    यस्तै ३१ जिल्लाहरु पहिरोको जोखिममा छन्। प्राधिकरणले ४ हजार ८ सय २९ बस्ती पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । अहिलेसम्म ४ हजार १७६ बस्ती व्यवस्थापन भइसकेको भएपनि अझै ५ सय बस्ती जोखिममा रहेको उनले बताए।

    पहिरोको जोखिम कम गर्न ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षीत स्थानमा सार्नुपर्ने, बालीनाली लगाउने प्रकृयामा सुधार गर्नुपर्ने र पानीको व्यवस्थापन गर्नुपर्ने उनले बताए। कोरोनाका कारण प्राधिकरणले निर्माण गरिरहेका नीजि आवास निर्माण तथा ऐतिहासिक सम्पदाहरूको निर्माणमा समस्या भएको बताए।

    आर्थिक वर्षको अन्तिमसम्म नीजि आवास निर्माणको सबै काम सम्पन्‍न गरिसक्ने योजना रहेपनि कोभिडका कारण अझै १२ प्रतिशत काम बाँकी रहेको बताए। सडक निर्माणको काम पनि एक वर्षपछि धकेलिएको उनले बताए। यस्तै धरहरामा ढलानको सबै काम सम्पन्न गर्ने योजना भएपनि कोभिडले केही ढिलाइ भएको उनले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस