साउन ३०, २०७७
चौताराः सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीस्थित लामा गाउँमा पहिरोले पुरिँदा ३६ जना बेपत्ता छन्। त्यही पहिरोले बगाएर पनि बाँच्न सफल भएका एकजना भाग्यमानी हुन् पासाङ दोङ।
बिहान गाउँमाथिबाट झर्दै गरेको पहिरो देख्नेबित्तिकै उनी भाग्न तयार थिए। तर आमालाईसमेत पहिरोबाट जोगाउन खोज्दा खोज्दै छोप्यो। उनी आमालाई भागौँ भागौँ भनिरहेका थिए तर उनलाई पहिरोले छोपिहाल्यो।
तर ३६ जना हराइरहेको पहिरोमा परेका उनी भाग्यले बाँचे। अहिले उनको उपचार सिन्धुपाल्चोक जिल्ला अस्पतालमा भइरहेको छ। बिहान ६ बजे झरेको पहिरोबाट उद्धार गरेर चौतारा पुर्याइएका घाइते पासाङ दोङले पहिरोले आफ्ना परिवारकासहित धेरैजना हताहत भएको जानकारी दिए।
‘बिहानको समय पहिरो आउँदै गर्दा आमालाई भागौँ भागौँ भनिरहेको थिए। ढोकामा आइपुग्दा मलाई पहिरोले बगायो’ उनले भने, ‘मेरै परिवारका धेरै व्यक्ति पहिरोले पुरिएका छन्। म भने भाग्यले बाँचे।’
उनले पहिरोले गर्दा सिंगो गाउँको निशान मेटिएको उल्लेख गरेका छन्। उनले भने, ‘म हेलिकोप्टरबाट यहाँ आइपुगेको छु। माथि ५० घरहरु पहिरोमा परेका छन्। हेर्दाहेर्दै माथिबाट पहिरोले गाउँ नै बगायो।’ पहिरो आएको देख्दा देख्दा पनि भाग्ने ठाउँ नभएको उनले बताए।
उनी र आमा त भाग्यले बाँच्न सफल भए तर उनीहरुको घरसहित गाउँ नै पहिरोमा हरायो। उनले हेर्दा हेर्दै एक घर दुई घर हुँदै सिंगो गाउँ पुरियो। एउटै परिवारका ५ जनासम्म पहरोमा पुरिएका हुन सक्ने दोङले बताए। थाहाखबरबाट
प्रतिक्रिया दिनुहोस