साउन ३०, २०७७
चौताराः सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन्।
‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिलेसम्म २१ जना पुरिए भन्ने आएको छ तर घटनास्थल नपुगि भन्न सकिने अवस्था छैन्।’
उनले खोजी र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको बताए। अहिलेसम्म घटनास्थलमा सेना र प्रहरी पुगेको छैन। स्थानीयले उद्धारको प्रयास गरिरहेका छन्। स्थानीयका अनुसार पाँच जनाको उद्धार गरिएको छ।
वडाअध्यक्ष लामाले सेना र जनपद प्रहरी घटनास्थलतर्फ हिँड्दै गइरहेको जानकारी दिए। लिदीमा १ सय ७२ घर पहिरोको उच्च जोखिममा थिए। ती ठाउँका घर पहिरोको उच्च जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको अध्यक्ष लामाले बताए।
उद्धारको लागि प्रहरी टोली जाँदै गरेको भएपनि अहिलेसम्म पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ््लेले जानकारी दिए। अब करिब १ घण्टामा प्रहरी टोली घटनास्थल पुग्न उनले बताए।
प्रतिक्रिया दिनुहोस