२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

जमिनभित्र हाइड्रोले सुरुङ खनेपछि उजाडिएको बस्ती, त्रासमा स्थानीय

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • साउन ५, २०७७
    चौताराः भीमकाय पहाडबीचमा एउटा सुन्दर गाउँ छ, नाम्फा । जुगल गाउँपालिका २ स्थित नाम्फाको दायाँबाँया विशाल पहिरो खसेका छन् । पहिरोले केही घर पुरेको छ । केही बगाएको छ । बस्तीआसपासका खेतबारी सबै बगेको छ, पुरिएको छ । तल उर्लिएर गडगडाउँदै बगेको छ, बलेफी खोला ।

    खोला उर्लिएर आउँदा कतिबेला बस्ती नै खोला छेक्न पुग्ने हो, थाहा छैन । बस्ती नै जोखिममा परेपछि नाम्फावासी विस्थापित भएका छन्, यतिबेला । उनीहरूको पीडा दर्दनाक छ ।

    पहिरोले बस्ती नै जोखिममा पारेर नाम्फेलीलाई विस्थापित बनाउने प्रधान कारण बलेफी खोलामा निर्माणाधीन अपर बलेफी जलविद्युत् आयोजना रहेको नाम्फेलीका स्थानीयवासी बताउँछन् । ३६ मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्दा बस्तीको सुरक्षामा ध्यान नदिइएकाले नाम्फा जोखिममा परेको उनीहरूको भनाइ छ ।

    २६ असारयता सिङ्गो बस्तीलाई पहिरोले घेरेपछि नाम्फावासी त्रस्त छन् । आयोजनाले बस्तीमुनि मनलाग्दी सुरुङ खन्दा समस्या भएको स्थानीयवासी बताउँछन् । बस्तीमुनि जलविद्युत् आयोजनाले सडक खनेको छ, ड्याम बनाएको छ । त्यस्तै, आयोजनाको कार्यालय पनि बस्तीमुनिको जमिन खनेर बनाइएको स्थानीयवासीको गुनासो छ ।

    यही कारण बस्ती जोखिममा परेको स्थानीय सहदेव सिलवाल बताउँछन् । पहिरोका कारणले सडकमा पनि क्षति पुगेको छ । बस्तीसम्म जान जोखिम मोल्नुपर्छ । लप्सी खोलामा रहेको झोलुङ्गे पुल पनि जोखिममा छ ।

    खहरे खोला र पहिरोले सानो नाम्फा र ठूलो नाम्फा नै घेरिएका छन् । पहिरोपीडित स्थानीय भगवती सिलवाल आकाशतिर देखाउँदै भन्छिन, ‘ज्यान त त्यो बादलको भरमा छ जस्तो लाग्न थालेको छ, आकाश कालो भयो कि चिन्ता सुरू भइहाल्छ ।

    पहिरोले बगाउला भन्ने चिन्ताले सानो नाम्फाका स्थानीयवासी रात काट्न ठूलो नाम्फा जाने गरेका छन् । भगवती भन्छिन्, पहिरोले खेत पुरिदियो । सबै लुट्यो, खान र लाउनै बाँकी नरहेपछि सकिन बाँकी के नै रह्यो र? सबैतिरबाट पहिरोले घेरिएका नाम्फावासीलाई निरन्तर दर्किइरहेको झरीले आतंकित बनाएको छ । चारैतिरबाट पहिरोले घेरेपछि सानो नाम्फावासी निर्धक्क भएर सुत्न सकेका छैनन् ।

    ६६ वर्षका सहदेव सिलवालको अवस्था उस्तै टिठलाग्दो छ । २०७२ सालमा गएको भूकम्पपछि गएको पहिरोले उनको बारी बगरमा परिणत गरिदिएको थियो । त्यही बारी मलजल गरेर सामान्य अवस्थामा ल्याएका थिए उनले । तर, असारे झरीसँगै गएको पहिरोले फेरि पुरिदियो ।

    ुसबै सकियो हजुर, अब सकिन बाँकी केही छैनु, आँखाभरि आँसु पार्दै सहदेव भन्छन् । पहिरोको डरले सानो नाम्फाका डेढ दर्जनजति स्थानीयवासी ठूलो नाम्फा जान्छन् । तर, ठूलो नाम्फाको शिरबाट ढुङ्गा झर्ने जोखिम छँदै छ । स्थानीय श्यामकुमार भुजेल भन्छन्, ‘बाँच्नका लागि ठूलो नाम्फा जान्छौँ तर त्यहाँ पनि डाँडाको ढुङ्गा खसेर ठहरै बनाउला भन्ने डर हुन्छ ।ु ठूलो नाम्फाको पश्चिमी र पूर्वी दुवै भागमा पहिरो गएको छ ।

    २०७२ सालको भूकम्पमा नाम्फाका थुप्रै घर भत्किएका थिए । पहिरो समेत गएको थियो । भूकम्पले सिंगै बस्ती नै उजाड बनाएपछि नाम्फावासीहरू गाउँ छाडेर लामो समय काठमाडौंमा पाल टाँगेर बसेका थिए । सरकारले राहत दिने प्रतिबद्धता जनाएपछि उनीहरू गाउँ फर्केका थिए ।

    भूकम्पछि काठमाडौंमा १ वर्ष पालमुनि बिताएका सहदेव सिलवाललाई अहिले फेरि पहिरोले पालमुनि पुर्‍याएको छ । ‘उता ९काठमाडौं०बाट गाउँ फर्केपछि सरकारले यही गाउँचाहिँ नबस्नू भनेको थियो ।’ सरकारले सिन्धुपाल्चोकका नाम्फासहित १ दर्जन बस्ती सारेर नयाँ नमुना बस्ती बनाउने योजना बनाए पनि कार्यान्वयन नहुँदा स्थानीयवासीले जोखिम मोलेरै बस्न अयोग्य भनिएको ठाउँमा फेरि बस्ती बसाए ।

    पहिल्यैदेखि पहिरोको उच्च जोखिममा रहेको नाम्फा बस्तीको ठीक मुनिबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ‘ए’ हाइड्रोपावर परियोजनाले ४ किलोमिटर सुरुङ खनेपछि बस्ती झन् जोखिममा परेको स्थानीयवासी बताउँछन् ।

    ‘सुरुङ खन्ने समयमा बम पड्काउँदा यहाँ हाम्रो घर हल्लिन्थ्यो, भगवती सम्झिन्छिन्, ‘भूकम्प आयो कि भनेर हामी बाहिर दौडिन्थ्यौँ ।’ हाइड्रोपावर परियोजनाले बस्तीमा थप जोखिम बढेपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, गाउँपालिका कार्यालय, हाइड्रो पावर परियोजना सबैलाई गुहार मागेका थिए ।

    सुरुङका कारण नाम्फाका घर चर्केको, सुक्खा पहिरो गएको र घर भत्केको भन्दै बारम्बार गुनासो गरे पनि कतैबाट सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् । ‘जमिनभित्र सुरुङ बनाउँदा त हाम्रो घर थरथर हुन्थ्यो । चुलोको खाना तल खस्थ्यो,’ सहदेव भन्छन्, ‘यो हाइड्रो खोलेको हामीलाई थाहा नै छैन । हामीले गुनासो गर्दा पनि कसैले सुनेनन् ।’

    स्थानीयवासीले सुरूङ खन्दा सुक्खा पहिरो गएको, बस्ती जोखिममा परेको भन्दै २ चैत, २०७५ मा पहिलो पटक हाइड्रोपावरलाई पत्र लेखेका थिए । ८ असोज, २०७६ मा प्रमुख जिल्ला अधिकारीको रोहबरमा हाइड्रोपावर पक्ष र स्थानीयवासीबीच छलफल भएको थियो ।

    छलफलअनुसार हाइड्रोपावरले स्थानीयको गुनासो सम्बोधन नगरेपछि ३० असोज र २४ कात्तिकमा स्थानीयवासी र हाइड्रोबीच फेरि छलफल भएको थियो । तर, हाइड्रोपावरले स्थानीयको माग सम्बोधन नगर्ने अडान लिएपछि स्थानीयवासी गाउँपालिकाको शरणमा पुगेका थिए ।

    हाइड्रोको सुरुङले बस्ती जोखिममा परेको गुनासो गर्दा प्रहरी लगाएर आफूहरूलाई धम्की दिएको बताउँछन् सहदेव । ‘हाम्रो घर,बारी जाने भयो भनेपछि उल्टै पुलिस ल्याएर हामीलाई डराए’, सहदेवले भने । ‘हामी गरिबलाई मारेर छाड्ने भए,’ गंगादेवी भन्छिन्, ‘पहिल्यै जोखिम छ भनेको ठाउँमा सुरूङ नखन्न भन्यौँ तर कसैले हाम्रो कुरा सुनेनन् ।’ आर्थिक अवस्था कमजोर भएकै कारण जोखिम मोलेरै भए पनि गाउँमा बस्नुपरेको बताउँछन् शंकरबहादुर । ‘पैसा भएको भए त सुरक्षित ठाउँमा बस्थे नि । पैसा नभएरै त यहाँ बस्नुपरेको ।’

    भूकम्पपछि अधिकांश नाम्फावासीले भुइँतले घर बनाएका छन् । ‘भूकम्पले लाँदैन भनेर भुइँतले घर बनाएको, त्यही पनि पहिरोले लाने भयो,’ ७२ वर्षीया सानुमाया दोङ भन्छिन् । भूकम्पमा गएको पहिरोले सानुमायाको आधा खेत लग्यो । बाँकी बचेको खेत अहिलेको पहिरोले ।

    ‘पहिरोले लगेन भने घाँसपात खाएर त बाँच्ने होला नि’, सानुमाया भन्छिन, ‘कि पहिरोले मार्छ । कि भोकले ।’ मानव बसोबास योग्य नभएपछि १० घरका नाम्फावासीले सधैँका लागि नाम्फा छाडिसकेका छन् । सबैतिरबाट जोखिममा परेपछि नाम्फवासी अहिले मकैबारीमा पाल हालेर बस्ने तयारी गर्दै छन् । निरन्तरको झरीले पालमा बस्न पनि सजिलो छैन । ‘सबैतिर पहिरो छ, पालमा बसेर पनि के बाँचिएला र रु,’ मीनकुमारीलाई डर छ ।

    चारैतिर पहिरो गएपछि नाम्फाको विद्युत सेवा पनि अवरुद्ध भएको छ । विद्युत नहुँदा रातमा झन् कष्ट भएको बताउँछिन ईन्द्रकुमारी सिलवाल । ‘रातमा डरले निन्द्रा लाग्दैन। यताउती भागौँ भने पनि उज्यालो छैन,’ इन्द्रकुमारी भन्छिन्, ‘दिउँसो त मान्छे देखिन्छन्, मन शान्त हुन्छ । राति त डरले काँपेर बस्नुपर्छ ।

    २६ असार यता ५ जनाको परिवारसहित आफ्नो घर छाडेर अर्काको घरमा शरण लिएर बसेका छन् ५० वर्षे लछुमान भुजेल । लछुमान भन्छन्, ‘भूकम्पले हल्लायो । सुरुङको विस्फोटले हल्लायो । पहिरोले हल्लायो । घरभित्र बसिसक्नु छैन । जता हेर्‍यो त्यतै पहिरो, हामी त कालै कुरेर बसेजस्ता भयौँ ।’

    के भन्छन् गाउँपालिका अध्यक्ष?

    जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ केही समयपछि हाइड्रोपावर पक्षसँग छलफल गर्ने बताउँछन् । ‘अहिले नै गल्ती गरिस्, उठेर जा भन्ने कुरा हुँदैन, त्यसो भन्ने बेला पनि होइन । अहिले जसरी हुन्छ, बाँच्ने र बचाउने बेला हो’, उनी भन्छन्, ‘केही महिनापछि विशेषज्ञलाई ल्याएर अध्ययन गर्न लगाउँछौँ । विज्ञहरूले दिने सुझावका आधारमा हाइड्रोपावरका सम्बन्धमा गाउँपालिकाले आधिकारिक धारणा बनाउनेछ ।’ हाइड्रोपावर स्वयम् अहिले बाढी र पहिरोको कहरमा रहेकाले अहिलेको चुनौती अलि कम भएपछि छलफल गर्ने तयारी रहेको उनले बताए । (शिलापत्रबाट)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस