२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

शोकमा डुबेको जम्बु गाउँको रोदन

  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • असार २७, २०७७
    चौताराः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, जम्बु गाउँ बाढीले बगायो । जम्बु गाउँको बीचबाट बग्ने यल्मु खोलामा आएको बाढीले गाउँ बगाउँदा २१ जना बेपत्ता पारेको छ । सुरेश तामाङ र उनकी ५ वर्षीया छोरीको शव भने फेला परेको छ ।

    अन्यको खोजी कार्य जारी छ । बुधबार आएको बाढीले जम्बु गाउँका करिब २० भन्दा बढी घर बगाउँदा उनीहरू बेपत्ता भएका हुन् ।

    आफन्तहरूको रोदन

    ‘आमा, सानो टहराएको भए पनि भक्तपुरमा घर बनाएकी छु । आउनु, यतै सँगै बसौँ भनेकी थिएँ । मान्नुभएन, आज यस्तो देख्न रहेछ,’ यो भक्तपुर सूर्यविनायककी डोल्मा तामाङको रोदन हो । जम्बु बाढीमा परेर आमा साइँली तामाङ बेपत्ता भएपछि उनी बिहीबार जम्बु नै पुगेकी थिइन् ।

    बाढीले भग्नावशेषसमेत नेदेखिने गरेर पुरेको थियो उनकी आमालाई । डोल्मा साइँली तामाङको घरनजिकै कहिले रुन्छिन्, कहिले एकहोरो टोलाएर बन्छिन्, अनि भन्छिन्, ‘मेरो आमाको घर यहीँनिर हो । आमा यतैकतै हुनुहुन्छ, कहीँ जानुभएको छैन ।’

    आमा बेपत्ता भएपछि डोल्मालाई उनका आफन्तले समेत सम्हाल्न सकिरहेका थिएनन् । बिहीबार ६ बजे उठ्दा नउठ्दै आमा बेपत्ता भएको खबर उनका आफन्तले गरेपछि उनी जम्बु नै पुगेकी हुन् । डोल्माकी आमा जम्बोमा एक्लै बस्दै आएकी थिइन् ।

    परिवार नै बाढीले बेपत्ता पारेपछि चरी तामाङको हालत पनि उस्तै छ । उनी तातोपानी–काठमाडौं रुटको कन्टेनरका चालक हुन् । ५ जना परिपारका सदस्य गुमाएका चरी अर्धमूर्च्छित अवस्थामा छन् ।

    उनका आफन्तले बिहीबार उनलाई सम्हाल्ने प्रयास गरिरहेका थिए । तर, उनी श्रीमती लीला तामाङलाई खोज्दै भाग्न खोज्थे । ुलीला–लीलाु भन्दै श्रीमतीलाई बोलाउँदै हिँड्थे । उनी भने संयोगवश बुधबार बाह्रबिसे हुँदै कन्टेनर लिएर काठमाडौं आउँदा बाँचेका हुन् ।

    बाढीले जम्बु गाउँ नै बगाउँदा उनका बुबा भीमबहादुर तामाङ, चिनीमाया तामाङ, श्रीमती लीला तामाङ, छोरा पासाङ तामाङ र छोरी पेमा तामाङ पनि बेपत्ता भएका थिए । गाउँ नै बाढीले बगाएको खबर आफन्तबाट पाए पनि उनी काठमाडौंबाट बिहीबार मात्र जम्बु पुगेका हुन् । उनी अब घरबारविहीन बनेका छन् ।

    यसरी नै आफ्नो भाइ टोकबहादुर तामाङका ७ जनाको परिवार बुधबार रातिको बाढीले बेपत्ता भएपछि ६० वर्षीय जीतबहादुर तामाङ पनि टोलाएरै बसेका छन् ।

    उनी कहिले टोकबहादुरको पुरीको घरमा पुग्छन् त कहिले भोटेकोसीको किनार । उनी भन्दै थिए, ‘बुहारीको केही दिनमा बच्चा जन्माउने मिति डाक्टरले दिएका थिए । तर, परिवारै पुरियो ।’

    टोकबहादुरले भूकम्पप्रतिरोधी एकतले घरसमेत बनाएका थिए । भूकम्पबाट बच्न बनाएको घरलाई समेत बाढीले परिवारसहित बगाएर लग्यो । अन्य आफन्त गुमाउनेहरूको हालत पनि उस्तै छ । (शिलापत्रबाट)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस