असार २७, २०७७
चौताराः सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बाढी र पहिरोका कारण अबरुद्ध अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जुरे तातोपानी सडकखण्ड खुलाउने काम सुरु भएको छ । बिहीबार मात्रै जिल्लाको बाह्रबिसेको जम्बुक्षेत्र पुगेर फर्कनुभएका सभामुख सापकोटाले तत्काल राजमार्ग सुचारु गर्न पहल गरेका हुन् ।
शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा सम्बद्ध सरकारी अधिकारी, जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, स्थानीय तहका प्रतिनिधि र जिल्लाका राजनीतिक नेताहरुसँग छलफल गरी तत्काल सडकमार्ग खुलाउने उपायबारे छलफल गरेका छन् सभामुख सापकोटाले तत्कालीन उपाय अपनाएर टुटेको सडक सम्पर्क स्थापित गर्नुपर्नेमा जोड दिंदै आफूले यसका लागि पहल जारी राखेको बताए ।
छलफलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले क्षति भएका स्थानमा अस्थायी बाटो बनाएर सडक सम्पर्क स्थापित गरिनुपर्ने बताए । त्काल बाटो खोल्ने र सम्पर्क कायम गर्नुपर्नेमा जोड दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीले बाटो खुलाउने काम सुरु गरिसकिएको जानकारी दिए। कामका सिलसिलामा स्थानीय स्तरमा आउनसक्ने अप्ठेरोमा सहजीकरण गरिदिन सचिव कार्कीको आग्रह थियो ।
सडक विभागका महानिर्देशक केशब कुमार शर्माले अरनिको राजमार्ग अन्तर्गत जुरेदेखि तातोपानीसम्म ११ ठाउँमा मुख्य क्षति भएको बताए । जुरेमा अबरुद्ध बाटो बनाउने काम जारी रहेको र कुनै अबरोध नभए केही दिनमै बाह्रविसेसम्मको बाटो सुचारु हुने विश्वास व्यक्त गरे ।
खागदल, झ्याले र डाकलाङमा गरी कम्तिमा तीनवटा बेलिब्रिज हाल्नुपर्ने प्रारम्भिक प्रतिवेदन आएको र स्थलगत अवलोकनपछि मात्रै विस्तृत विवरण आउने उनको भनाई छ । महानिर्देशक शर्माले स्थानीय तहहरुसँग भएका स्काभेटरहरु प्रयोग गरेर अबरुद्ध बाटो खुलाउन विभागले प्राविधिक सहयोग उपलब्ध गराउने स्पष्ट पारे ।
छलफलमा सहभागी नेकपाका केन्द्रीय सदस्य माधब सापकोटा सुबोधले बाढीले पक्की पुलसमेत बगाएकोले यथासक्य छिटो बेलिब्रिज हालेर बाटो खुलाउनुपर्नेमा जोड दिए । पहिलो चणमा एम्बुलेन्सलगायतका साना सवारीसम्म चल्ने बाटो बनाउने र दोस्रो चरणमा सामान ढुवानीका लागि बाटो बनाउनुपर्ने उनको सुझाव थियो ।
अर्का केन्द्रीय सदस्य सरल सहयात्रीले बाह्रबिसेदेखि जम्बुखण्डको बाटोमा धेरै क्षति पुगेकोले अस्थाई रुपमा बाटो सञ्चालनका लागि बाह्रबिसेबाट खोलावारीको बाटो मर्मत गरी जम्बुसम्म पुग्न सकिने बताए । त्यसका लागि स्थानीयस्तरमा सहजीकरण गरिने बताए ।
नेकपाका सिन्धुपाल्चोक अध्यक्ष झम्क नेपाल र भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले स्थानीय स्तरमा आउने समस्या समाधान र सहजीकरणका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यही असार २४ र २५ गते रातिका भारी बर्षापछि आएको बाढी र पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाको सिमानामा पर्ने जुरेदेखि तातोपानीसम्मको बाटो अबरुद्ध छ ।
बाढी र पहिरोले अरनिको राजमार्गको बाह्रबिसे नगरपालिका अन्तर्गत जुरे सडकखण्ड, बाह्रबिसे चौकी नजिक हुँदै खुर्सानीबारी व्यारेक मुनिको सडक, खागदल खोला पक्की पुलमा क्षति र खागदल क्षेत्रको सडकखण्ड, खागदलदेखि जम्बु जाने सकडखण्ड, जम्बु बजार क्षेत्र, नयाँ पुल सडकखण्डमा क्षति पुगेको छ ।
यस्तै भोटेकोशी गाउँपालिका अन्तर्गत बुल्कुटे पुल र सडकखण्ड, डाक्लाङ सडकखण्ड, खोकुण्डोल सडकखण्ड, लार्चा बेलिब्रिज क्षेत्रको सडकखण्ड, १० किलो सडकखण्ड र तातोपानी–धारामाथिको सडकखण्डमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस