२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

भोटेकोशीको बहाव बढ्योः त्रासमा स्थानीय, जताततै जोखिम

  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • असार २६, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लामा अविरल बर्षासँगै बाढी पहिरोको जोखिम बढेको छ। बुधबार राति बाह्रविसे नगरपालिका, जम्बोस्थित एल्मो खोला उर्लदा दुई जनाको ज्यान जानका साथै २२ जना बेपत्ता भए ।

    बेपत्ताको खोजीकार्य जारी रहेकै बेला शुक्रबार फेरि भोटेकोसी गाउँपालिकास्थित भैरवकुण्ड हाइड्रोपावरसँगैको लार्चा खोलामा बाढी आउँदा एक जना बेपत्ता हुनका साथै एक घर बगाए।

    लार्चा खोला नजिकैको बस्तीहरु पहिरोले पुरिन थालेको छन् भने स्थानीयहरुको भागदौड भएको छ । सो क्षेत्रको दसकिलो, घट्टेखोला, कोदारी डाँडा उच्च जोखिम रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

    यता बाह्रविसे खोर्सानीबारीस्थित ठाडोखोला उर्लदा बाह्रविसे तातोपानी सडकखण्ड खोलामा परिणत भएको छ भने भोटेकोसी नदीमा पानीको सतह बढ्दै जाँदा भोटेकोसी नदी नै बजारमा पस्ने जोखिम पनि बढ्दै गएको छ । बाह्रविसेदेखि खाडिचौरसम्मका स्थानीयवासिहरु त्रासमा छन्।

    अविरल वर्षासँगै जिल्लास्थित विभिन्न नदी, खहरे र खोल्साहरुमा बाढी आउन थालेपपछि जनजीवन एकएक त्रासमा बदलिएको हो ।जिल्लाका प्रमुख नदीहरु, भोटेकोसी, सुनकोसी र ब्रम्हायणीमा पानीको सतह बढ्दै गएपछि सो क्षेत्र आसपासका बासिन्दाहरु यतिखेर त्रासमा छन् ।

    जिल्लाको प्रमुख व्यापारिक बजार खाडिचौर र सुकुटेमा सुनकोसी नदीको बहाबले मानव बस्तीलाई कटान गर्न थालेको छ । जिल्लाको उत्तरी भेग जुगल गाउँपालिकाको नाम्फा बस्ती नजिकै पहिरो जाँदा एक घर पुरिएको स्थानीय सूर्य सिलवालले जानकारी दिए।

    त्यस्तै लिदिमा पहिरो जाँदा माथिल्लो बलेफी हाइड्रोपावर कम्पनीको इन्टेक समेत पुरिएको जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाडले बताइन्। जुगलभित्रका क्षेत्रहरु जोखिममा परेको हुनाले तत्कालै सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताइन्।

    ब्रम्ह्यणी नदीको सतह बढ्दै जाँदा जलबीरे, सिम्ले र बलेफी बजारमा समेत जोखिम बढ्दै गइरहेको स्थानीय राजु श्रेष्ठले जानकारी दिए।

    जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण मानव वस्तीमा जोखिम बढ्दै गएकाले सर्तक हुन जिल्लाबासीका लागि सूचना जारी गरिसकेको छ । जिल्लामा जताततै बढीपहिरो जान थालेपछि सबै सुरक्षा निकाय र उद्धारकर्मीलाई हाइलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

    बढ्दो बाढीपहिरोको जोखिम न्यूनिकरणका लागि स्थानीय सरकार लगायत सरोकार निकायले यथासीघ्र पहलकदमी लिनुपर्ने जलवीरेका राजु श्रेष्ठको भनाइ छ ।

    बाढी पहिरोको जोखिम तिव्र रुपमा बढेकाले काठमाडौँ लगायत सुरक्षित स्थानमा जान चाहानेलाई पालिकाले सवारी साधनको व्यवस्था समेत गर्ने बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए।

    भोटेकोशीको बहाव बढेसँगै तातोपानी, लिदि, हिन्दी, बाह्रविसे खोर्सानीबारी, लामोसाघुँ, खाडिचौर लगायतका स्थानीय घर छाडेर हिड्न थालेका छन्। यस क्षेत्रका स्थानीय वासि अहिलेमात्रै नभएर हरेका साल बर्षा याममा घर छाडेर हिड््न बाध्य हुने गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस