असार २५, २०७७
चौताराः आजदेखि मनसुन थप सक्रिय भएका कारण बिहानैदेखि देशभरको मौसम पूर्ण रुपमा बदली भई धेरैजसो स्थानमा पानी परिरहेको छ। अबको चार दिनसम्म देशभरको मौसम बदली भई भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश एक, दुई र पाँचका केहि स्थानमा भारी वर्षा भएको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।विशेषगरी यी प्रदेशका तराई क्षेत्रमा धेरै पानी परिरहेको बताए।
आज सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सचेत रहनु
गृह मन्त्रालयले आजदेखि चार दिन सम्म देशभर भारी वर्षा भई बाढी पहिरो र डुबानको जोखिम हुने भएकाले सचेत रहन आग्रह गरेको छ।
मन्त्रालयले विज्ञप्ती आज गरेर आजदेखि यस वर्षकै ठूलो वर्षा हुने जनाएको छ। प्रिमनसुन शुरु भएदेखि नै परेको पानीले पहाडी भेगको जमिन गलेकोले पहिरोको उच्च जोखिम रहेको र अधिकाश नदि तथा खोलामा पानीको सतह सतर्कता तहभन्दा माथि पुग्ने भएकाले मन्त्रालयले सजग रहन भनेको छ।
प्रतिक्रिया दिनुहोस