२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • असार २२, २०७७

    चौताराः देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ।

    आज खान छुटेका बालबालिकालाई भोलि खुवाइने शाखाले जनाएको छ। कोरोना रोकथाम तथा नियन्‍त्रणका लागि लकडाउन भएपछि गत वैशाख ६ र ७ गते तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम गत चैत २१ गते स्थगित गरिएको थियो। मन्त्रालयले सो कार्यक्रम पुनः सञ्चालन गरेको हो।

    ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ। सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न ०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ।

    प्रत्येक वर्ष भिटामिन ए खुवाउने कार्यक्रममा २७ लाख ३ हजार ५ सय २२ बालबालिका सहभागी हुने गर्छन‍्। १५ बहुसूक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ।

    बालभिटा ०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस