असार २०, २०७७
मेलम्चीः प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा पनि प्रदर्शन भएको छ। स्वतन्त्र युवाहरुको समुहले स्वस्फुर्त रुपमा मेलम्चीमा मौन प्रदर्शन गरेका हुन्।
नेकपाभित्र चर्केको विवादकाबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत ६ सचिवायल सदस्यसहित ३० बढी स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीको राजीनमा माग गरिरहेका छन्।
पार्टीभित्रै ओलीबिरुद्ध मोर्चाबन्दी चलिरहेको बेलामा ओलीको समर्थनमा मेलम्ची आसपासका युवाहरु शनिवार सडकमा निस्किएर मौन समर्थन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरु युवाहरुले ओलीको समर्थनमा मेलम्चीमा कमिसन खोज्ने मन्त्रीको राजीनामागराउस प्रधानमन्त्रीको हैन, आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई, हाम्रो मत स्थायी सरकारलाई हो, विदेशी दलालहोसियार, याद छ नेताहरु हाम्रो भोट पाँच वर्षको लागि एउटै प्रधानमन्त्रीलाई थियो, राजनितिक स्थायित्वको लागि स्थायी सरकार, पार्टीको लागि हैनस देशको लागि म झोलेनै हुँ लगायत लेखिएका प्लेकार्ड बोकेका सडकमा उत्रिएका थिए।
जारी स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामामागेपछि ओलीको समर्थनमा देश भर प्रदर्शन भैरहेका छन । पार्टीभित्रको तिव्र विवादको कारणले सोमबारसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको छ। समस्या समाधानका लागि पार्टीभित्रका दोस्रो, तेस्रो तहका नेताहरुबाट दबाव बढेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार भएको ओली र दाहालबीचको वार्ता निस्कर्षबिहिन बन्न पुगेको थियो।
प्रतिक्रिया दिनुहोस