२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सिन्धुपाल्चोक आइपुग्यो सलहः कसरी गर्न सकिन्छ नियन्त्रण?

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • असार १७, २०७७
    चौताराः दक्षिणबाट उत्तरतर्फ चलेको हावाका कारण भारतबाट नेपालमा छिरेको सलहको समूह तराईका जिल्ला हुदै सिन्धुपाल्चोक जिल्ला सम्म आइपुगेको छ। शनिबार दिउँसो तराई मधेसका बारा, पर्सा, सर्लाही, रुपन्देही र कपिलवस्तुसहितका जिल्लामा देखिएको सलह कीराको मंगलबार सिन्धुपाल्चोक आइपुगेको हो।

    सिन्धुपाल्चोकको जुगल गाउँपालिका र पाँचपोखरी थाङपाल गाँउपालिकाका विभिन्न क्षेत्रमा ठुलो समुहमा सलह किरा भेटिएको छ। जुगल गाउपालिका भित्रको ६ नम्बर वडा हाप्रामा निकै ठुलो समुहमा सलह किरा देखिएको स्थानीय शिक्षक दुर्गा श्रेष्ठले जानकारी दिए। सलह किरा भित्रिएसँगै स्थानीय कृषक चिन्तित बनेका छन्।

    विभिन्न क्षेत्रमा सलह प्रवेश गरिसकेको र केही स्थानमा भने क्षति पुर्याउन थालेको गाउपालिका उपाध्यक्ष सृजना लामाले जानकारी दिइन्। मकै बालीमा क्षति पुर्याएको सलह जङ्गलमा पनि बाक्लो मात्रामा रहेका छन्।

    विशेषगरी चिलाउनेको बोट तथा बाँसको झ्याङमा पनि यो कीरा देखिएको छ। यो किरा एक स्थानमा करिब २ देखि ३ दिन रहने र त्यस क्षेत्रको बाली खाएर सकिसकेपछि अन्यत्र स्थानान्तरण हुने गर्दछ।

    त्यस्तै पाँचपोखरी थाङपाल गाँउपालिकाको विभिन्न ठाँउमा ठुलो सङ्ख्यामा सलह देखिएको स्थानीय अजय धितालले जानकारी दिए। अहिले स्थानीयहरुले थाल ठटाउने लगायत विभिन्न विधि अपनाएर सलह भगाउन प्रयास गरिरहेका छन्।

    जुगल गाउँपालिकाले समस्या समाधानका लागि सतर्क रहन किसानहरुलाई आग्रह गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै सतर्कता अपनाउन र त्यसको निराकरणका विभिन्न उपाय अपनाउन आग्रह गरेको हो।

    खेतबारीमा सलह बस्न नदिन पाकेको वा टिप्न मिल्ने बालीहरुलाई भित्र्याउन र तत्काल बजार लगिहाल्न किसानलाई सुझाव दिएको छ। सलहले हरियो बालीको पात खाएपछि डाँठ र हाँगा समेत सखाप पार्ने क्षमता राख्दछ। सिन्धुपाल्चोकका विभिन्न गाउँपालिकाले किराबाट बच्नको लागि सर्तकता अपनाउन आग्रह समेत गरिसकेको छ।

    कसरी गर्न सकिन्छ नियन्त्रण?

    १) हुललाई तितरबितर पार्ने९आगो बाल्ने,धुवा उडाउने आदि।
    २) प्राकृतिक सिकारीको प्रयोग (हाँस, माकुरा, छेपारो आदि हाँसले प्रतिदिन २०० जतिको सङ्ख्यामा कीरा खान्छ।)
    ३) ध्वनिको प्रयोग गर्ने (थाल ठटाउने, स्पिकर बजाउने आदि) ४) प्रजनन गर्न सक्ने ठाउँ नष्ट गर्ने।
    ५) कीटनाशकको प्रयोग, जैविक समेराटाईजियम ,रसायनिक मालाथिन, फेनिट्रोथिन, डाईजिनन र फिप्रोनिल,बोरिक एसिड आदि।
    ६) लसुन र पानीको घोल बनाएर छर्किनाले यसको केही मात्रमा नियन्त्रण गर्न सकिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस