२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

इन्द्रावतीमा करोडौँको खानेपानी योजना

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • असार १७, २०७७

    देवराज सुवेदी
    मेलम्चीः सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुने भएको छ। उक्त पालिकाका वडा नं ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का सम्पूर्ण बस्तीहरू समेटेर खानेपानी बितरण गर्न इन्द्रावती वृहत खानेपानी आयोजनाको लागि रु ४९ करोड ४१ लाख ९२ हजार ८ सय १४ रुपैयाँको लागत इष्टिमेट तयार गरिएको थियो। सोही लागत इष्टिमेटको आधारमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाले टेन्डर आह्वान गरेको छ।

    पूर्व कानुन मन्त्री एवम् सोही क्षेत्रका सङ्घीय सांसद शेर बहादुर तामाङका अनुसार माधव कुमार नेपालको प्रधानमन्त्रीत्व कालमा इन्द्रावती र साँगाचोक क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्रको रुपमा पहिचान गरिएको थियो।

    सो क्षेत्रलाई आयोजना सम्पन्न गर्न योजनामा समावेश गर्न तत्कालीन सिन्धुपाल्चोक क्षेत्र नं २ बाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका वर्तमान सभामुख अग्नि प्रसाद सापकोटाको पहलबाट आयोजना स्वीकृत गर्न सफल भएको बताए।

    उक्त आयोजनाको जिल्ला खानेपानी डिभिजन कार्यालय सिन्धुपाल्चोक र इन्द्रावती गाउँपालिकाको संयुक्त लगानीमा सर्भे गरिएको पालिका प्रमुख वंशलाल तामाङले बताए।

    सो आयोजनाको वडा स्तरमा ट्याँकी स्तरको समितिहरू समेत बनिसकेको गाउँपालिका श्रोतले जानकारी गराएको छ। प्रारम्भिक सर्भे गर्दा गाउँपालिकाका वडा नं १, २ र ३ पुरै र वडा नम्बर ६ को तिनघरे, बसन्तपुर, बितलब र तीनढुंगेका ३०० घरधुरी, वडा नं ८ सुन्दरीपुरका ३५ घरधुरी, वडा नं ९ सिपाटार तल्लो तामाङ बस्ती ७५ घरधुरी, वडा नं १० झोलुङ्गे ९२, मरन डाँडा मसार ३५ घरधुरी र वडा नं ११ बिस देउटार ६३ घरधुरी छुट हुन गएको थियो।

    तामाङको निर्देशन पश्चात सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडाले गत आ।व।मा नै छुट भएको वडा नं ६, ८, ९, १० र ११ का करिब ६०० घरधुरीको पुन सर्भे गरी समेटि सकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडाका कामु आयोजना प्रमुख मोहनलाल जैसीले बताए।

    हाल छुट हुन गएको वडा नं १, २ र ३ लाई पनि यस आयोजनामा समेट्नुपर्ने स्थानीयको जोडदार माग गाउँपालिकामा पेस भएको छ। छुट हुन गएको वडाहरू मध्ये वडा नं २ र ३ को लागी बसेरी पाछाम खोला कोटडांडा खानेपानी आयोजना क्रमागत रुपमा सम्पन्न गर्न केन्द्रीय बजेटमा समेटी सकिएको र आ।व २०७७÷७८ का लागि रु। ५० लाख विनियोजन समेत गरि सकेको तामाङले बताए।

    त्यसैगरी वार्ड नं १ को सवालमा आयोजना सम्पन्न गर्नु अगावै एकघर एकधारा हुनेगरी नयाँ योजना वा सोही आयोजनामा समावेस गरेर खानेपानी पुर्‍याउन सकिने जिल्ला खानेपानी कार्यालय, सिन्धुपाल्चोकका कार्यालय प्रमुख समेत रहिसक्नु भएका सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागका योजना शाखा प्रमुख सि.डि.ई. लक्ष्मी प्रसाद उपाध्यायले बताए।

    सबै छुट भएका वडाहरू र बस्तीहरू समेटेर आयोजना सम्पन्न गर्दा सिंङ्गै इन्द्रावती गाउँपालिकाको खानेपानी समस्याको दीर्घकालीन समाधान हुने नेकपाका जिल्ला अध्यक्ष तथा सो आयोजनाका उपभोक्ता समेत रहेका झम्क नेपालले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस