असार १४, २०७७
काठमाडौँः कोभिड–१९को महामारीबाट लाखौं मानिस प्रभावित छन् । यसको प्रभावकारी उपचारबारे खोज भइरहेको छ, तर पत्ता लागिसकेको छैन । नेपालमा पनि पछिल्लो समय संक्रमणको फैलावट तीव्र छ । नेपालमा त परीक्षण नै प्रभावकारी हुन नसकिरहेका गुनासो बढ्दो छ ।
कुनै व्यक्तिमा कोरोना संक्रमण छ या छैन भन्ने थाहा पाउन नेपालमा दुई विधिबाट कोरोना परीक्षण भइरहेको छ– पिसिआर र आरडिटी ।
के हो पिसिआर ?
पिसिआर (पोलीमराइज चेन रियाक्सन) अर्थात कुनै जीवाणुको आणुवंशिक जिन पत्ता लगाउने आधुनिक प्रविधि हो । यसको प्रयोग कोरोना भाइरसको संक्रमण शरीरमा छ कि छैन भन्ने थाहा पाउन प्रयोग हुँदै आइरहेको छ । स्वाव (नाक वा घाँटीबाट निकालिने तरल पदार्थ) नमूना निकालेर प्रोटिन परीक्षण गरिने तरिका पिसिआरमा प्रयोग हुन्छ ।
पीसीआर विधिले दु्रतरूपमा लाखौंदेखि अरबौं प्रति विशिष्ट डीएनए नमूनाको प्रतिलिपि बनाउँछ । जसबाट डिएनएको सानोभन्दा सानो नमूना लिन र यसलाई विस्तृत रूपमा अध्ययन गर्न वैज्ञानिकहरूलाई पर्याप्त सहयोग पुग्छ । पिसिआरको आविष्कार सन् १९८३ मा अमेरिकी जीवशास्त्री केरी मुलिसले सेटस कर्पोरेशनमा गरेका थिए । पुरानो डिएनए नमूनाहरूको विश्लेषण र संक्रामक एजेन्टहरूको पहिचानसहित आनुवंशिक परीक्षणको लागि यो आधारभूत विधि हो । पिसिआर अहिले सामान्य र अक्सर अपरिहार्य प्रविधि बनेको छ, जुन मेडिकल तथा क्लिनिकल प्रयोगशालामा जैविक चिकित्सा र आपराधिक फोरेन्सिकको विविध अनुसन्धानमा प्रयोग गरिन्छ ।
सरलरूपमा बुझ्दा पिसिआरले शरीरमा भएको भाइरस पत्ता लगाउँछ । त्यसैले कोरोना भाइरस परीक्षणका लागि यसलाई विश्वसनीय मानिएको हो । विज्ञकाअनुसार पिसिआर परीक्षण संक्रमण भएको हप्तादेखि १० दिनभित्रमा गर्नु सबैभन्दा उपयुक्त मानिन्छ । १० दिनपछि हुँदा पिसिआर परीक्षण विधिबाट पनि वास्तविक परिणाम नआउन सक्छ ।
पिसिआरले कोरोनामात्र नभई कुनै पनि जिवाणु पत्ता लगाउन मद्दत गर्छ । यसको मुख्य काम भनेको लक्षित जिवाणुको जिन पत्ता लगाउने हो । यस विधिबाट ७० प्रतिशतभन्दा माथि सही परिणाम आएको पाइन्छ ।
आरडिटीचाहिँ के हो ?
आरडिटी (र्यापिड डाइग्नोस्टिक टेस्ट) मेडिकल डायग्नोस्टिक परीक्षण हो, जुन चाँडो र सजिलो हुन्छ । यसको प्रयोग प्रारम्भिक वा आपतकालीन चिकित्सकीय परीक्षणको लागि गरिन्छ । यसमा शरीरबाट रगत निकालिन्छ र परीक्षणको परिणाम २० देखि २५ मिनेटमा हेर्न सकिन्छ ।
शरीरमा रोगसँग लड्ने एन्टिबडी अवस्था पत्ता लगाउन यसको प्रयोग हुँदै आइरहेको छ । नेपालमा कोरोनाको आरडिटी परीक्षण प्रभावकारी नभएको भन्दै विश्वसनीयतामाथि प्रश्न उठिरहेको छ । डब्लूएचओले पनि यो विधिलाई कोरोना परीक्षणका लागि विश्वसनीय मानेको छैन । यसलाई सामान्य सर्भे गर्नका लागि मात्र प्रयोग गर्दा उपयुक्त हुने विज्ञहरू बताउँछन् ।
आरडिटी र पिसिआरको फरक परिणाम
नेपालमा हालसम्म गरिएका आरडिटी र पिसिआरको परिणाममा धेरै फरक परेको छ । किन हुन्छ त यस्तो ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार संक्रमितको परीक्षण कुन समयमा गरियो भन्नेमा पनि परिणाम भर पर्छ । उनी भन्छन्, ‘आरडिटीले संक्रमणको झण्डै १२ दिनपछिमात्रै देखाउँछ । भर्खरै संक्रमित भएर आएको छ भने देखाउँदैन । पिसिआरले जाँच गर्दा देखाउँछ ।’
उनी एन्टीबडीको प्रकारले पनि परीक्षणको परीणाममा फरक पर्ने बताउँछन् । ‘एन्टिबडी पनि आइजिएन र आइजिजी गरी दुई प्रकारका हुन्छन् । आइजिएन देखिएमा भर्खरै इन्फेक्सन भएको रहेछ भन्ने बुझिन्छ । यो पिसिआरमा देखिन्छ’, उनी प्रस्ट्याउँछन्, ‘आइजिजीचाहिँ पिसिआरले नदेखाउन सक्छ । यो झण्डै दुई हप्तापछि देखिने भएकाले पिसिआर परीक्षणमा देखिन्न ।’
उनका अनुसार भर्खरै संक्रमित भएको व्यक्तिमा पिसिआर परीक्षण पोजेटिभ देखिन्छ भने आरडिटी नेगेटिभ देखिन्छ । तर, संक्रमण भएको १० दिनपछि जाँच्दा पिसिआर नेगेटिभ र आरडिटी पोजेटिभ देखाउन सक्छ । (स्रोतः साप्ताहिक)
प्रतिक्रिया दिनुहोस