२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

नेपाल भित्रियो सलह

  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ४ साल अघि
  • असार १३, २०७७
    काठमाडौँः नेपालमा पनि अन्‍नबाली नष्ट सलह किरा भित्रिएको छ। नेपालको तराईका बारा, पर्सा र सर्लाही जिल्लाबाट यो किरा भित्रिएको हो।

    भारतको बिहार हुँदै सलह नेपाल प्रवेश गरेको कृषि मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले बताए। अन्नबाली नष्ट गर्ने किरा नेपाल भित्रिएपछि खेतीबालीमा पुर्‍याउन सक्ने क्षति तथा नियन्त्रणको लागि छलफल जुटेको समेत बताए।

    सलहको बथान कत्रो छ भन्नेबारे पूर्ण जानकारी आइसकेको छैन। पूर्वी अफ्रिकाबाट सुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो।

    सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाद्‍यन्‍न बालीमा क्षति पुर्‍याउँछ। नेपालमा यसले पुर्‍याउन सक्ने क्षतिबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ।

    के हो सलह किरा?
    सलह विश्वकै खतरनाक किरामा गनिन्छ। यो हेर्दा फट्याङ्ग्रो जस्तै भए पनि थोरै ठूलो र यसको पछाडिको खुट्टा लामो हुने गर्दछ। यसको उफ्रिने क्षमता निकै बढी हुने गर्दछ। यो कीराले समूहमा आक्रमण गर्छ। एक्लै भने हिँड्न सक्दैन। हावाको गतिमा यिनीहरु उड्ने गर्छन्। कीराहरूले सेरोटोनिन नामक हर्मोन आ(आफ्नो मस्तिष्कमा उत्पादन गर्छन्।

    यिनीहरुले समूहमा आक्रमण गर्ने, एक ठाँउबाट अर्को ठाँउमा जाने जस्ता सामूहिक काम गर्छन्। अरु कीराहरूले निश्चित समूहको बाली मात्रै खाने गर्दछन् भने यसले जुनसुकै जातको बाली र अझै रुख नै खाने गर्दछ। सलहको एक झुण्ड करिब १ वर्ग किलोमिटरको हुने गर्दछ भने यसमा करिब ८ करोड जति सलह हुन्छन्।

    चिसो ठाउँमा रहन सक्दैनन्। सलह २ हजार फिटमाथि जान सक्दैन। यी झुण्डले प्रत्येक दिन १० माइलको यात्रा तय गर्ने गर्दछन्। ठाउँ र समयसँगै यी कीराले आफ्नो रंग र रुप पनि परिवर्तन गरेको पाइन्छ। प्रारम्भिक चरणदेखि बयस्क अवस्थासम्म यसले असर गरिरहन्छ।

    नेपालका लागि यो कीरा नयाँ होइन। सन् १९६२ मा पनि यसको चर्चा भइसकेको थियो। सलह भारतको राजस्थानमा २० वर्ष अगाडि पहिलोपटक आउँदा पनि नेपालमा व्यापक असर गर्न सक्ने हल्ला चलेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस