खबरज्याेति
माग २२
सुकुटे -नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यले प्रथम सुकुटे महाेत्सव गरिने भएकाे छ । अागामि फागुन १५-१८ गते सुकुटेमा हुने उक्त महाेत्सवकाे उद्घाटन नेकपा अध्यक्ष प्रचण्डले गर्ने भएकाछन् ।
सिन्धुपाल्चोकमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार र प्रबर्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक संस्था सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । बुधबार सुकुटेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले सिन्धुपाल्चोकको सुकुटे क्षेत्रका जलयात्रालाई केन्द्रमा राखी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी तथा सुनकोशी गाउँपालिकाको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न महोत्सवको आयोजना गरिएको बताए ।
प्रमुख अतिथि प्रचण्ड , बिशेष अतिथि पर्यटन मन्त्री याेगेश भट्टराई लगाएतका जिल्लाबाट प्रतिनिधित्व गर्ने मन्त्री सांसद लगाएतकाे टोलीले २० वटा डुङ्गाबाट र्याफ्टिङ गर्दै जेट बोर्ड, प्याराग्लाइडिङ, साइकलिङ र वेलुनसहित ड्रोनको प्रयोग गरी कार्यक्रम उद्घाटन गरिने अायाेजकले जनाएकाे छ । उद्घाटनकै दिन साँगाचोकगढीबाट कार्यक्रम स्थलसम्म साइक्लिङ, कपिलेश्व महादेव मन्दिर बलेफीबाट सुकुटेसम्म दौड समेत गरिने जनाईएको छ । विविध सांस्कृतिक कार्यक्रमसहित गरिने महोत्सवमा तामाङ संस्कृती र झाँकी प्रदर्शन, नेवारी संस्कृती र धिमे बाजा, माझी समुदायको विशेष नाच, खैंजडी भजन र कलाकारहरुले विशेष प्रस्तुतीसमेत देखाउनेछन् ।
त्यस्तै सरसफाइ तथा जागरण कार्यक्रम, पालिका स्तरीय दोहोरी गीत प्रतियोगिता, लामोसाँघु–तामाखानी पदमार्गमा हाइकिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, विभिन्न विषयमा कार्यशाला, सिन्धुपाल्चोक र पर्यटन विषयमा पालिकास्तरीय वक्तित्वकला, जनप्रतिनिधि तथा कर्मचारीहरुबीच भलिवल प्रतियोगिता, राष्ट्रिय स्तरीय र्याफ्टिङ प्रतिस्पर्धा, पत्रकार महासंघ, गैसस महासंघ बीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता लगायतको कार्यक्रम तय गरिएको सुकुटे महोत्सव २०७६ सचिवालयले जनाएको छ ।
महोत्सवकैबीच सिन्धुपाल्चोकको पर्यटकीय केन्द्र सुकुटेलाई पर्यटकीय ‘हव’को रुपमा विकास गर्न सुकुटे पर्यटन घोषणा–पत्र जारी गरी र पर्यटन विकासमा प्रतिवद्धता समेत जनाईने छ । महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण र बिक्रि वितरणको व्यवस्थापन, कदमवासबाट व्यावसायिक प्याराग्लाइडिङको शुरुवात गर्ने, स्थानीय उत्पादन र स्थानीय संस्कृती झल्कने मौलिक कुराहरुको प्रदर्शनी समेत गरिने जनाईएको छ ।
महोत्सव सम्मपन्न गर्न ५० देखि ६० लाखसम्म प्रारम्भीक अनुमान गरिएकाे महाेत्सव मुलअायाेजक समितिका सचिवालय सदस्य राजेन्द्र शर्माले जानकारी दिए । महोत्सवबाट ५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ । महोत्सवको समापन सभामुख अग्नीप्रसाद सापकोटाले गर्ने बताईएको छ । सुकुटे अासपासमा हाल १० अाेटा रिसाेर्टहरु सञ्चालनमा रहेका छन् । महाेत्सव अवधी भर ती रिसाेर्टहरुले दिने सेवा खाना, खाजा, अावास,र्याफ्टिङ , प्याराग्लाइनिङ मा ३० प्रतिशत छुटकाे ब्यवस्था गरिएकाे छ ।
पत्रकार सम्मेलनमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, महोत्सव आयोजक सचिवालय समितिका संयोजक चन्द्रप्रसाद सापकोटालगायतले महोत्सवको बारे प्रस्ट्याउँदै पत्रकारको जिज्ञासालाई सम्बोधन गरेकाथिए ।
प्रतिक्रिया दिनुहोस