२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

सुनकोसीमा बस दुर्घटना : १७ को मृत्यु, घाइतेलाई धुलिखेल ल्याइयो

  • २०७६ कार्तिक १७, आईतबार मा प्रकाशित ५ साल अघि
  • सिन्धुपाल्चोक । सुनकोसी नदीमा बस खसेर भएको दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ। ४६ जनाको उद्धार गरिएको छ।

    उद्धार गरिएका ४६ जनालाई काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि ल्याइएको छ। बसका चालक धनबहादुर तामाङलाई पनि खाडीचौर अस्पतालबाट धुलिखेल नै ल्याइएको छ।

    खाडीचौरमा उपचार गराइराखेका चालक बोल्नसमेत नसक्ने अवस्थामा रहेकाले उनलाई थप उपचारका लागि धुलिखेल ल्याइएको हो । घाइतेमध्ये अन्य छजना गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा अझै खोजी तथा उद्धार जारी रहेको डिएसपी माधव काफ्लेले जानकारी दिए। उद्धार कार्य जारी रहेकाले घटनाको विस्तृत विवरण आइनसकेको उनले बताए।

    मृतकमध्ये सनाखत भएकाहरुमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षिया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका ४ सिन्धुपाल्चोककी २७ वर्षिया चमेली श्रेष्ठ र उनकी ६ वर्षिया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ३ की ५१ वर्षिया रत्नकुमारी राउत, सोही स्थानका ३ वर्षिय सिसन तामाङ रहेका छन् ।

    दिउँसो सवा एक बजे भएको दुर्घटनामा अझैसम्म पनि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् । नदिमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकालिएपनि बसभित्र कोही नभेटिएको प्रहरीको भनाई छ । यात्रु सबै बगाएको अनुमान गरिएकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान छ । केही शवहरु खोलाले बगाएकोसमेत छ । बस सडकबाट ३५ मिटर तल खसेर सुनकोशी नदिमा पुगेको थियो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेकाअनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने छ । उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए । यात्रुलाई नदिले बगाएको हुन सक्ने भएकाले सुनकोशी नदिमा खोजीक्रम जारी छ ।

    दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोसीमा खसेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस