खबरज्योती
१७ भदौ काठमाडौ । स्वास्थ्योपचारका क्रममा सिङ्गापुर रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरुबीच आज दोस्रो पटक भिडियो कन्फरेन्स टेलिप्रिजेन्स प्रविधिबाट सम्वाद भएको छ ।
प्रधानमन्त्री ओलीले यसबीचमा भएका सरकारका कार्यप्रगतिबारे अन्य मन्त्रीहरुको उपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएर आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए । यसअघि यही भदौ ९ गते पहिलो टेलिप्रिजेन्स छलफल भएको थियो तर यो मन्त्रिपरिषद्को औपचारिक बैठक भने होइन ।
प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहेका बेलामा पनि सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का बैठक र छलफल गर्न सकिने कार्यविधि नेपाल सरकारले यसअघिनै पारित गरेको थियो । भदौ ५ गते उपचारका लागि त्यसतर्फ जानुभएका प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रालाई शरीरबाट निस्काशन गरी निराकरणका लागि प्लाजा फेरेसिसको चक्र पूरा हुन लागेको उहाँको सचिवालयले जनाएको छ ।
उहाँको त्यहाँस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्कने पूर्वनिर्धारीत कार्यक्रम छ । भिडियो कन्फरेन्स मार्फत भएको सम्वादको प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले बिरोध गर्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस