खबरज्योती
१६ भदौ २०७६, सिन्धुपाल्चोक ।
मेलम्चीको पानी काठमाण्डौं लैजाने जिम्मा पाएको इटालियन कम्पनी सिएमसीले एक अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर आफ्नै देश फर्किदा स्थानीय सप्लायर्स, मजदुरलगायत बिचल्ली परेका छन् । आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्काे ब्याजमा लिएको ऋण तिर्न नसक्ने अबस्थामा पुगेपछि उनीहरु बिचल्लीमा परेका हुन् ।
सिएमसीले ठेक्का तोडेर नौ महिनाअघि नै हिँडेको थियो । सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ । आयोजना र नेपाल सरकारले जफत गरेको रकम आफूहरुले पाउनुपर्ने माग उनीहरुको छ । सिएमसीको धरौटी, आयोजनाबाट भुक्तानी हुन बाँकी, एक अर्ब मूल्य बराबरको उपकरण, निर्माण सामग्रीलगायतका रकम आयोजना र नेपाल सरकारले जफत गरेको थियो । सो रकम आफूहरुले पाउनुपर्ने भन्दै बिहीबार पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्दै सहज वातावरणका लागि प्रमुख जिल्ला अधिकारीसामू आग्रह गरे ।
मोटरलगायतका उपकरण सप्लाई गरेको बिरा मोटर्सले मात्रै सिएमसीसँग ८० करोड रुपैयाँ लिन बाँकी छ । मोटर्सका सञ्चालक दिनेश श्रेष्ठका अनुसार मन्त्रालयका सचिवलगायतले समेत सिएमसीलाई सामग्री दिनु भनेका थिए । पछिल्लो समय मेलम्चीको काम तीव्र गतिमा भएको थियो । त्यो अवधिको सामग्री आफूले सप्लाई गरेको श्रेष्ठको दाबी छ । ‘मासिक २० करोडको सामग्री सप्लाई गरें,’ उनी भन्छन्, ‘अहिले विचल्लीमा परियो, घर जग्गा लिलाम हुने अवस्थामा छ ।’
सिएमसीले ठेक्का तोडेपछि अहिले मेलम्चीलाई काठमाण्डौं लैजाने जिम्मा चिनियाँ सिनो हाइड्रो कम्पनीले पाएको छ । बाँकी काम सम्पन्न गर्नका लागि गरिएको ठेक्का प्रक्रिया अन्तर्गत दुई प्याकेजमा ठेक्का लगाइएको थियो । सिनो हाइड्रोले हेडवक्र्सतर्फ २९ प्रतिशत विलोमा गएर ९० करोडमा र सुरुङतर्फ १५ प्रतिशत विलोमा गएर ७५ करोडमा ठेक्का पाएको हो । नयाँ कम्पनीले काम गर्ने भएपछि सिएमसीसँग पैसा लिन बाँकी सप्लायर्स र मजदुरले आफ्नो पैसा नपाए आन्दोलनको चेतावनीसमेत दिएका छन् ।
आयोजनालाई मोटर, उपकरण भाडामा दिएका ई. श्रीराम न्यौपाने ठेक्का प्रक्रिया र भुक्तानी प्रक्रिया एकैचोटी हुनुपर्ने माग पीडितहरुको भएको बताउँछन् । ‘नौ महिनासम्म भुक्तानी नपाउँदा हामी अलपत्र परेका छौं,’ न्यौपानेले भने, ‘बैंकले घर जग्गा लिलामीको प्रक्रियामा जाने समय नजिकिएको बताउँदा चिन्तित छौं ।’ उनले सिएमसीको धरौटीलगायतको रकम नेपाल सरकार र आयोजनाले जफत गरेका कारण नीतिगत निर्णय गरेर पीडितहरुको रकम फिर्ता गर्नुपर्ने बताए । यस्तै गिटी बालुवा सप्लाइको जाल्पा क्रशरले ३ करोड ३५ लाख , पाल्चोकी माईँ क्रशरले २ करोड ६० लाख रुपैयाँ भुत्तानी लिन बाँकी रहेको जिल्ला क्रशर ब्याबसायि संघ सिन्धुपाल्चोकका अध्यक्ष किरण थापाले जानकारी दिए ।
सीएमसीले रिचार्ज कार्ड, गिटी, बालुवा, सिमेन्ट, छड, इन्धन, हवाइजहाजको टिकटलगायत सप्लायर्सहरुको रकम तिर्न बाँकी भएको हो । बालुवा, गिटी सप्लाई गरेको स्थानीय उत्तरकुमार श्रेष्ठ सिएमसीसँग आफूले चार करोड रुपैयाँ लिनुपर्ने दाबी गर्छन् । ‘यो रकम फसेका कारण आफू अहिले जिरोमा झरेको छु,’ उनले भने, ‘आर्थिक अभावका कारण मानसिक तनाव हुन थालेको छ ।’ उनका अनुसार पैसा नपाएका कारण मजदुरहरु घर फिर्नसमेत पाएका छैनन् ।
तिर्न बाँकी रहेका सप्लायर्स तथा मजदुरहरुलाई सिएमसीले भुक्तानी गर्नुपर्ने रकम प्रमाणिकरण गरेर कागजपत्र दिएको छ । तर, सिएमसी आफै यहाँ नभएकाले पाउनुपर्ने रकम गुम्न सक्ने खतरा भएको हुँदा पीडितहरुले सरकारको ढोका ढक्ढकाएका हुन् । हवाई टिकट सप्लाई गरेको यति होलिडेज्का प्रोपाइटर मोहन भट्टराईले आफूले ७५ लाख रुपैयाँ पाउनुपर्ने रहेको बताए । ‘आवश्यक अनुसार टिकट दिएँ, अहिले फसियो ।’ उनले भने । भट्टराईका अनुसार सिएमसीका कर्मचारी आउजाउका लागि उनले टिकट सप्लाई गरेका थिए ।
पीडीतहरुको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले यहाँहरु समस्यामा परेकाले आफूले सक्दो पहल गर्ने आश्वासन दिइन् । ‘आफ्नो तर्फबाट जिम्मेवारीपूर्वक पहल गर्छु,’ उनले भनिन्, ‘मन्त्रालय र अन्य सरोकारवाला निकायमा ज्ञापन पत्र पु¥याउनेछु ।’ पीडितहरुले बुझाएको ज्ञापन पत्रमा सात दिन भित्र समस्या नसुल्झिए शान्तिपूर्ण तर परिणाममुखी आन्दोलनमा होमिनुको विकल्प नभएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस