२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

एकीकृत बस्ती हस्तान्तरणमा समस्या

  • २०७५ आश्विन १५, सोमबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति,
    १५ असोज २०७५, सिन्धुपाल्चोक ।

    भूकम्प गएको दुई वर्षपछि नायिका श्वेता खड्का चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित झ्याँडी गाउँ पुगिन् । खड्का त्यहाँ पुग्दा जस्तापाता र त्रिपालमा बसिरहेका माझी गाउँले अचम्मित थिए । गाउँनजिकै रहेको पीपलबोट चौतारीमा भेला भएका माझी समुदायलाई श्वेताले एकीकृत नमूना बस्ती बसाल्ने योजना सुनाइन् । ‘श्वेता म्यामको योजना सुनेपछि माझी गाउँमा खुसीको सीमा रहेन,’ उबेलाको भेलालाई स्मरण गर्दै स्थानीय दिनेश माझीले भने ।

    तर, डेढ वर्ष पूरा बितिसक्दा पनि भूकम्पपीडित नयाँ घरमा सर्न पाएका छैनन् । ०७२ वैशाखदेखि बस्दै आएको टहरो पटकपटक बनाउँदै र भत्काउँदै उनीहरुले गुजारा चलाउँदै आएका छन् । चिटिक्क परेको नयाँ घर बनिसकेको छ । माझी गाउँले नमूना बस्ती देखेर दंग पनि छन् । यद्यपि, पैसा अभावले घर बस्नलायक नबन्दा उनीहरुलाई भित्रभित्रै पीडा हुने गर्छ । घर आफ्नो स्वामित्वमा कहिले आउँछ भनेर उनीहरु प्रतीक्षा गरिरहेका छन् ।

    स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापना गरिएको श्वेताश्री फाउण्डेशनले एकीकृत बस्ती निर्माणको जिम्मेवारी सम्हाल्दै आएको छ । इन्द्रावती र झ्याँडी खोलाको दोभान किनारमा रहेको सुन्दर माझी बस्ती ऋणपिन गरेर ठडिन लागेको छ । रातो रङको जस्तापाताले छाएको राताम्मै घर नदी किनारबाट हेर्दा मनमोहक देखिन्छ । के बृद्धबृद्धा के बालबच्चा सबै खुसी छन् । ५३ घर निर्माणमा हालसम्म दुई करोड २२ लाख खर्च भइसकेको छ । तर, निर्माण सामग्री खरिद गरेको ५७ लाख ऋण कसरी तिर्ने हो पत्तो छैन । पसलका साहुजीहरुले बारम्बार गुनासो गरिरहेको श्वेताश्रीका प्रतिनिधि यज्ञराज कार्कीले जानकारी दिए । सरकारबाट प्राप्त एक करोड १४ लाख, श्वेताश्री फाउण्डेशनको २३ लाख र नायिका खड्काको व्यक्तिगत २८ लाख निर्माण कार्यमा खर्च भएको छ । बाँकी सबै ऋणमा निर्माण सामग्री ल्याइएको हो ।

    बैंकले गर्दा समस्या

    ५३ घरमध्ये ३४ को छानो छाइसकेको छ । १९ घरको आधा काम उसै छ । छानो छाइए पनि रकम अभावले घरहरु बस्नका लागि तयारी भएका छैनन् । त्यसैले माझी समुदाय अझै दुःखमा छन् ।

    भूकम्पपीडितको तेस्रो किस्ता दिन लक्ष्मी बैंकले ढिलाइ गरेकोले यी समस्या आएका हुन् । दुई प्रतिशतमा दिने भनिएको सहुलियत ऋण पनि बैंकले दिएको छैन । बैंकमा पटकपटक धाउँदा पनि फराम भरिएको अनुदानको किस्ता बैंकले उपलब्ध गराउनसकेको छैन । त्यसैले बस्ती हस्तान्तरणमा समस्या परेको हो । यही समस्या देखाउँदै फाउण्डेशनले जिल्लास्थित प्रतिनिधिसभा–२ का सांसद शेरबहादुर तामाङ र स्थानीयतहका जनप्रतिनिधिलाई गुनासो पोखेको छ । बस्ती निर्माणमा भएको खर्च र ऋण सार्वजनिक गर्दै नायिका खड्काले गरिबको बस्ती निर्माणलाई सरकारले बेवास्ता गरेको आरोप लगाइन् । फाउण्डेशनसँग लश्मी बैंकले गरेको सम्झौता कार्यान्वयनका लागि सहयोग पुर्याउन सांसद र जनप्रतिनिसँग अनुरोध गरिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस