रातो रगतले इतिहास बन्दो रहेछ
रक्त कणका चुलीहरुमा
सुन्दर फूल फुल्दो रहेछ ।
भनिन्छ, जन्मेपछि सबैले एकदिन अवस्यनै मर्नुपर्छ । जो मान्छेले जन्मन जानेको हुन्छ त्यसले मर्न पनि जानेको हुन्छ । जनयुद्ध अनि जनआन्दोलनको शिखर चुम्नको लागि सयौं बीर शहिदहरुले उच्च बलिदानी दिए । हज्जारौंले जेल, नेल र यातना भोगे । करोडौं न्यायप्रेमि जनताले अथाह कष्ट झेले । जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलबाट सुरु भएको शहिदको उपमा अनुसार झम्क दुलाल (क. अर्जुन) पनि एक हुन् ।
सिन्धुपाल्चोकको सानोसिरुवारी स्थित पौवामा जन्मिएका दुलाल जनयुद्धमा न्यायको लागि लड्दा लड्दै शहिद भए । नेपाली धर्तिमा बीरविरङ्गना, नेपाल आमाका सन्तानहरुको रगतले थुप्रै पोखरी जमेका छन् । थुप्रै पाखा पर्वत रक्तमुछेल भएका छन् । याद् आउँछ आज झल्झली, नेपाली जनक्रान्तिका सपुत बीर शहिद क. अर्जुनको । उनको सहादत भएको अहिले १४ वर्ष पुग्दैछ ।
सिन्धुपाल्चोकको घोर्थलीको एक घरमा सेल्टर लिएर बसेको अवस्थामा स्थानीयको सुराकीको आधारमा राज्य पक्षद्वारा हत्या गरिएको थियो । उहाँ सिन्धुपाल्चोकको जनताको आँखाको नानी बन्नुभएको थियो भने दुस्मनको सामु आँखाको कसिङ्गर । जे जस्तो भएपनि सिन्धुबासीले आफ्ना धेरै आफन्त गुमाई ठूलो क्षति व्यहोर्नु परेको छ । उहाँहरुको सहादतमा श्रद्धाञ्जली नदिईरहन सक्दैनौं ।
२०६२ साल असोज १४ गते क. अर्जुनको सहादत भएको हो । क्रान्तिकारीहरु एउटा सच्चा इमान्दारी क्रान्तिकारीको विदाईमा दुखित मनलाई सुखको सारमा श्रद्धाञ्जली अर्पण गर्ने गर्दछन् । क्रान्तिको ऐतिहासिकता र वास्तविक यथार्थताले गर्दा क्रान्तिकारीहरुको मृत्यु हुने गर्छ । परिवर्तनको लागि लड्ने हज्जारौं सहयात्रीले सहादत प्राप्त नगरेका भने होईनन् । शहिदको अर्पणविना क्रान्ति सम्पन्न हुँदैन र हुन सक्दैन पनि । कुनै इतिहासमा देश र जनताको निम्ति लड्ने बीर योद्धाको रगत विना उत्पीडित जनसमुदायले मुक्ति पाउँदैनन् र पाउन सक्दैनन् पनि ।
क्रान्तिको लागि बलिदान अपरिहार्य तत्व हो । बलिदानले गर्दा नै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने बलियो आधारको रुपमा खडा भएको छ । यसको उचित रुपमा सम्मान र स्मरण गर्नु पर्छ । उहाँहरुले देखाउनु भएको गोरेटोमा अगाडि बढ्नु पर्छ । जसले गर्दा सुन्दर सजना साकार पार्न थप उर्जा र शक्ति प्रदान गर्छ ।
उहाँको भौतिक शरीर हामीमाझ नभएपनि उहाँले सिकाउनु भएको मालेमावादको पाठ हामीले सिक्न पाएका छौं । वर्गिय आन्दोलन र मुक्तिको पाठ न्यायपूर्ण युद्धको रगत र पसिनाको पोखरीमा डुबुल्की मार्न र हज्जारौं वर्षदेखि भोका, निमुखा आम उत्पीडित जनसमुदायका आवाजहरु बुलन्द पार्न सिकायो । एक दिन पक्कै उडेर जाने यो एकमुठी सासलाई क्रान्तिको अगेनोमा आहुती दिएर शहिदको फर्मेशनमा लामबद्ध भई हामीलाई आज क्रान्तिको आगोको लप्काहरुमा हामफाल्न प्रेरित गरिरहेका छन् ।
शहिद अनि भव्य मृत्युहरु पुष्पगुच्छाहरुको मालामा गासिन पुगि नयाँ पिढीँहरुको मनमस्तिष्कमा अजर बन्न पुगेका छन् र वर्गीय आन्दोलन र मुक्तिको भट्टिहरुमा आगोको फिलिङ्गो बन्न अनि संसार भरीनै सर्वहारा वर्गीय राँको फाल्न थप उर्जा प्रदान गरेको छ ।
उहाँ क्रान्तिप्रति ज्यादै निष्ठावान, भद्रशालिन, इमान्दार व्यक्ति हुनुहुन्थ्यो । हामी सानै हुँदा क्रान्तिका पाठहरु सिकाउनुहुन्थ्यो । उहाँले भनेका शब्दहरु हिजैजस्ता लाग्छ ‘क्रान्तिका रक्तबीजहरु कहिल्यै मर्दैनन् र मरेको पनि छैनन् ।’ उहाँ भन्नु हुन्थ्यो,’ ‘म पनि एक दिन मर्न सक्छु । मेरो मृत्युमा तिमीहरुले दुःखको आँसु कहिल्यै नबगाउनु । बरु साहसले मुटु दरिलो पारि परिवर्तनको बाटो अङ्गाल्नु ।’
उहाँदे भन्नुर्भको शब्दहरु कति मार्मिक र सान्दर्भिक थियो । हजुरले भन्नुभएको जस्तो मृत्युमा आँसु नबगाउन सकिदो रैनछ । मलाई थेग्ने यो प्राणरुपि मनलाई पनि कति गाह्रो हुँदोरहेछ । आँखाका आशुहरु परेलीको टुप्पाबाट ढिक्का बनि खस्दोरहेछ । सम्झनाका परेली मार्फत……….
जिन्दगीका खुसी अनि सुखका रंगहरु, पारिवारिक माया अनि मोह, सुन्दर संसारिक महल खडा गर्ने जीवनका सुन्दर सपनाहरु ध्वंस पारी कठिन संघर्षको बाटोमा जीवनलाई सदा सदाका लागि हटाउने र जीवनलाईसुन्दर भविष्य तथा सुन्दर मानव समाज निर्माणको लागि जीवनलाई मृत्युको बाटोमा सुम्पनु भयो ।
उहाँ आज नभएपनि अमरत्व प्राप्त गर्नुभएको छ । महान शहिद क. अर्जुनलाई भावपूर्ण श्रद्धाञ्जली !
२०७५ असोज १५ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस