२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

प्रहरी नै उम्काउँछन् तस्कर

  • २०७५ भाद्र २५, सोमबार मा प्रकाशित ६ साल अघि
    • एक हजार दिएपछि बालुवा‘पास’

    खबरज्योति,
    २५ भदौ २०७५, सिन्धुपाल्चोक ।

    नदीबाट अबैध रुपमा झिकिएको बालुवा लैजान प्रहरीको एजेन्टलाई प्रति ट्रिपर एक हजार दिएपछि तस्करी उम्कने गरेको पाइएको छ । रातको समयमा इन्द्रावती नदीमा स्क्याभेटर प्रयोग गरी निकालिएको बालुवा पास गराउन ट्रिपर चालकले रकम दिएपछि प्रहरीले पक्राउ नगर्ने गरेको पाइएको हो ।

    नदीबाट अबैध रुपमा बालुवा निकाल्दै गरेको भिडियो तथा फोटोसहित स्थानीयवासीले जानकारी गराएपनि प्रहरी मौन बस्ने गरेको छ । मेलम्ची नगरपालिका–१२ फटकशीलाका साधुराम दनुवारलाई प्रति ट्रिपर एक हजार रुपैयाँ दिएपछि प्रहरीले तस्करी गरिएको बालुवा छाड्ने गरेको थियो । ट्रिपरवालाहरुले उनलाई रकम नदिएपछि भने प्रहरीले पक्राउ गरेको क्रसर व्यवसायीहरु बताउँछन् । पटक पटक स्थानीयको गुनासोपछि पनि वेवास्ता गरेको र रकम दिएको ट्रिपर पक्राउ नपर्नुले इलाका प्रहरी कार्यालयकै मिलेमतोमा तस्कर उम्कने गरेको पुष्टी हुने स्थानीय आकास दाहाल बताउँछन् ।

    ‘दनुवारलाई रकम नदिएपनि होला जस्तो लागेर हामीले नदिँदा त्यहि दिन पक्राउ गर्यौं,’ पक्राउ परेका एक चालकले भने– ‘रकम नदिएको दिन प्रहरीले बालुवा लैजाँदै गरेको बेला पक्राउ गरेपछि मेलम्ची प्रहरीले उनलाई खटाएको पुष्टि हुन्छ ।’ पक्राउ परेका चालहरुले जिल्ला प्रहरी कार्यालयमा दनुवारलाई एक हजार दिएर बालुवा लैजाने गरेको बयान दिएपछि जिल्लाकै टोली मेलम्ची स्थित इन्द्रावती नदीमा पुगेको थियो ।

    मेलम्ची प्रहरीले वेवास्ता गरेपछि जिल्ला प्रहरी कार्यालयका सादापोशाकका प्रहरीले एजेन्ट भनिएका दनुवारलाई पक्राउ गरेको छ । उनलाई स्थानीय सुराकीको आधारमा पक्राउ गरिएको हो । दनुवार पक्राउ परेको दिनदेखि भने इन्द्रावती नदीको सो स्थानबाट बालुवा निकालिएको छैन । तर, स्थानीयका अनुसार मेलम्चीबाट झण्डै तीन किलोमिटर माथि पर्ने नुवारखोलाबाट भने अहिले पनि बालुवाको चोरी निकासी भइरहेको छ ।

    असारदेखि भदौ महिनासम्म नदीबाट गिटी बालुवा निकासी गर्न नपाइने नीति छ । मेलम्ची प्रहरीले आफूखुसी साबेलको प्रयोगले बालुवा निकाल्नेलाई समेत कारबाही गरेतापनि प्रहरीसंगको सेटिङमा तस्करी गर्नेहरुले दिउँसै खोलामा स्काभेटर प्रयोग गरी नदी दोहन गर्दा समेत प्रहरीले नदेखे जस्तो गर्ने गरेको स्थानीय बताउँछन् ।

    स्थानीयले गएको भदौ ५ गते अपराह् ४ बजे पाल्चोकीमाई क्रसर नजिकै स्काभेटरले नदिबाट बालुवा निकाली रहेको भिडियोसहित मेलम्ची प्रहरीलाई खबर गर्दा समेत प्रहरीले वास्ता नगरेको मेलम्ची– ११ का आकास दाहाल बताउछन् ।

    साधुरामसँग आफ्नो कार्यालयको कुनै सम्बन्ध नरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख इन्सपेक्टर पर्शुराम मल्ल बताउँछन् । मल्लले यो आरोपमात्रै भएको बताउँदै आफ्नै टोलीले साधुरामलाई पक्राउ परेको दाबी गरे । उनले नदीबाट बालुवा निकाल्ने त्यस स्काभेटरको साँचो र ब्याट्री नियन्त्रणमा लिएको र प्रहरीको नाममा पैसा असुली गर्ने दनुवारलाई पक्राउ गरी सार्बजनिक मुद्धा दर्ता गरिएको बताए ।

    हाल सम्म ३३ ट्रिपर, १६ मिनि ट्रक, ९ स्काभेटर, २ डोजर, ६ ट्याक्टर नियन्त्रणमा लिएर कार्बाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीनै तस्करसँग मिलेको आरोप लाग्न थालेपछि केही प्रहरीमाथि विभागीय अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए । आरोप पुष्टि भए कडा कार्बाही गरिने उनले बताए । मरासिनी साधुरामसँग अनुसन्धान भइरहेकाले यथार्थ केही दिनमा खुल्ने बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस