२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सानो लगानीले दियो ठूलो खुशी

  • २०७५ भाद्र १८, सोमबार मा प्रकाशित ६ साल अघि
  • बिदुर गिरी,
    १८ भदौ २०७५, सिन्धुपाल्चोक ।

    गाउँमा पञ्चे बाजाको धुन सुन्नलाई कि त कसैको बिहे हुनुपथ्र्याे कि त विजय जुलुस या पूजा /पञ्चौली । एकातिर पन्चे बाजा घन्किएको छ तेहि बाजाको धुनमा छमछम नाच्दै एउटा भिड अगाडि लम्किरहेको छ । त्यहि भीडलाइ पच्छयाउँदै छन् गाउँका जनप्रतिनिधि र समाजका मान्य गन्यहरु ।

    यतिमात्र कहाँ हो र उता खसी काटेर मिष्ठान्न भोजनको तयारी गरिंदै छ । सबैको अनुहार खुशीले धपक्क बलेको छ । लाग्छ गाउँमा कुनै ठूलै समाजसेवीको विहेमा सबै रमाइरहेका छन् यता त्यस ठाउँले ठूलै युद्घ जितेको छ । तर बत्तिमुनिको अँध्यारोमा शताब्दीऔंदेखी कष्टकर जीवन जिउन विवश ति निर्दोष मुहारहरुमा खुशी छाउन ठूलो उपहारनै किन आवश्यक पर्दथ्यो र गाउँमा निर्मित एउटा सानो झोलुङ्गे पुलले दियो अपार खुशी ।

    माथीका हरफहरु हेलम्बु गाउँपालिका– ६ स्थित चालिसेमा भब्य समारोहका बीच भएको झोलुङ्गे पुल उद्घाटनको हो । चालिसे चिउरेखर्क झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले छोटो समय (तीन महिना १५ दिन) मा पुल निर्माण कार्य सम्पन्न गरेपछि स्थानीयलाई आवजावत गर्न सहज भएको छ । गाउँपालिका कार्यालयको आँगन छेउमै रहेको भएतापनि चालिसे बस्तीले विकासको खासै महशुस गर्न पाएको थिएन । गाउँपालिका कार्यालयको एक किलोमिटर दुरीमा पर्ने सो वस्तीका नागरिकहरु मेलम्ची खोला तर्ने पुल नहुँदा एक प्याकेट नून किन्नसमेत एक घण्ट भन्दा बढी समय खर्चिन बाध्य थिए ।

    हिउँदको समयमा काठको फड्केको सहायताले आवजावत गरेतापनि वर्षात्को समयमा त्यो सम्भव थिएन । सडक सञ्जालले अहिलेसमेत नछोएको त्यस वस्तीमा धेरै नेताले पुल बनाइदिने र सडक खनिदिने आश्वासन निरन्तर दिइनै रहे तर ब्यवहारमा न त पुल बन्यो नत सडकनै । ब्यवस्था जतिसुकै परिवर्तन भएतापनि त्यहाँका नागरिकको दैनिकी भने फेरिन सकेको थिएन । सानो वस्ती (१७ घरधुरी मात्र) भएकाले पनि नागरिकको कष्ठलाई भोटसँग तुलना गर्ने नेताहरुको ध्यान हेलम्बुको दुर्गम (कर्णाली) भेगमा जान सकेको थिएन । सायद आवश्यकताले घच्घच्याएर होला योजना सिफारिस भएको वषौंसम्म काम नहुने र योजनानै फ्रिज हुने हाम्रो समाजको परम्परालाई चुनौती दिँदै महिलाहरुमात्र सम्मिलित चालिसे चुउरेखर्क झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले छोटो समयमा काम सम्पन्न गर्न सफल भयो ।

    ४९ लाख २० हजार ७ सय १ रुपैयाँ लागतमा निर्मित यस पुल निर्माणको लागि हेलम्बु गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने टिबिएसयु (हेल्भेटास नेपाल) ले पुल निर्माणको लागि आवश्यक समाग्री (लठ्ठा, बुलडग ग्रीप, ग्याबिन तार फलामे छड, स्टिल पार्टस्) जनहित ग्रामीण सेवा समितिले प्राविधिक गरेको थियो । १ सय २४ मिटर लम्बाई रहेको उक्त पुलबाट दुईपाङ्ग्रे सवारी समेत गुडाउन मिल्ने भएपछि त्यहाँका युवालाई आफ्नो घरको आँगनसम्म सवारी साधन पुर्याउन सहज भएको छ ।

    निमाग्याल्जेन शेर्पा, अध्यक्ष हेलम्बु गाउँपालिका
    आफु निर्वाचित भएदेखि आजसम्म करोडौं रकम विकास निर्माणको क्षेत्रमा लगानी गरियो तर यो झोलुङ्गे पलुमा बजेट बिनियोजन गरेपछिको जस्तो सन्तुष्टी अहिलेसम्म मिलेको थिएन । हामीले आवश्यकता र प्राथमिकताको आधारमा बजेट बिनियोजन गर्न सक्यौं भने त्यसको सहि प्रयोग हुने र त्यसबाट अपार सन्तुष्टी प्राप्त हुँदो रहेछ ।

    शुमित्रा भण्डारी अध्यक्ष चालिसे चिउरेखर्क झोलुङ्गे पुल निर्माण उपभोक्ता समिति
    हिउँदको समयमात काठको फड्केबाट सुख दुःखले ओहोरदोहोर गरिन्थ्यो वर्षा लागिसके पछि भने दश मिनेटमा पुग्न सकिने ठाउँमा समेत दुई घण्टा लगाएर जानु पथ्र्यो । तेल, मसला लिन समेत झण्डै दिन माया मारेर जानुपथ्र्यो । अब पुल बनेपछि यी सबै कुराको समाधान भएको छ ।

    सिता भण्डारी, स्थानीय
    हिउँदमा फड्केबाट खोलामा खस्लान् भन्ने डर वर्षात्मा खेतको आलीमा चिप्लिएर लड्लान् भन्ने डर । बिहान स्कुल गएका भाइबहिनीहरु बेलुका घर फर्किन्छन् कि फर्किदैनन् सधंै चिन्ताले सताई रहन्थ्यो । पारी बस गुडेको घरको आँगनबाट देखिन्थ्यो तर बस भएको ठाउँसम्म पुग्न पसिना बग्नेगरी हिँड्नै पर्ने बाध्यता थियो । यो ठाउँमा पुल बनाउने वषौंदेखीको सपना साकार भएको छ ।

    राजुबाबु शिबभक्ति, स्थानीय
    वारिपारी जोड्ने पुल नभएकाले गाउँमा कोहि बिरामी पर्दा लामो दुरीको बाटो बिरामी बोकेर अस्पतालसम्म जानुपर्दा थकाइले भुतुक्क भइन्थ्यो । दैनिक उपभोग्य सामान किन्न बजारसम्म जान, विद्यार्थीहरुलाई विद्यालय जान ज्यादै कठिनाई थियो । पुल बनेपछि गाउँमा खुसियाली छाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस