२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

माझी बस्ती निर्माणमा ढिलाइ

  • २०७४ चैत्र १५, बिहिबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योती
    १५ चैत्र २०७४, सिन्धुपाल्चोक ।

    चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याँडीगाउँमा निर्माणाधीन एकीकृत माझी बस्तीको काममा ढिलाइ भएको छ । ०७३ जेठदेखि सुरु भएको एकीकृत बस्तीको २० प्रतिशत काम सम्पन्न भएको टोल सुधार समितिका अध्यक्ष दिनेश माझीले जानकारी दिए ।

    काममा भएको धीमा गति र विभिन्न अवरोधले भूकम्पपीडितलाई निर्माण सुरु भएको वर्ष दिनभित्र टहरोबाट नयाँ घरमा ल्याउने श्वेता श्री फाउण्डेशनको लक्ष्य पूरा नहुने भएको छ । आफ्ना पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा निर्माण भइरहेको एकीकृत माझी बस्तीको काम पूर्वयोजनाअनुसार अगाडि नबढेपछि नायिका श्वेता खड्का चिन्तित बनेकी छन् ।

    आफ्नो नाममा रहेको घरजग्गा बेचेरै भएपनि निर्माण सम्पन्न गर्ने प्रयत्नमा नायिका खड्का लागेकी छन् । ‘घरजग्गा बैंकमा राखेर ऋण निकाल्ने प्रयत्न गरिरहेको छु,’ नयाँ पत्रिकासँग कुरा गर्दै उनले भनिन्, ‘बैंकिङ प्रक्रिया सकिएको छैन ।’ भूकम्पपीडितलाई सरकारले दिने अनुदानले आवास निर्माण गर्ने र एकीकृत बस्तीको लागि आवश्यक फाउण्डेशन र अरु पूर्वाधार श्वेता श्रीले गर्ने भन्ने सम्झौता भएको उनले स्मरण गरिन् । एकीकृत बस्तीको लागि सरकारी निकायले सहयोग नगरेको उनले गुनासो पोखिन् ।

    एकीकृत बस्तीमा ५३ घर बन्दैछन् । १८ घरको गारो सकिएको छ । ३६ घर डिपिसी भएको दुई महिना बितिसकेको छ । तर, आजसम्म पीडितले दोस्रो किस्ता पाएका छैनन् । जिल्लास्थित पुनर्निर्माण प्राधिकरण, समन्वय समिति, भवन निर्माण कार्यालय र नापी कार्यालयले एकीकृत बस्तीलाई सहयोग नगरेकोले काममा ढिलाइ भएको स्थानीयले बताएका छन् ।

    श्वेता श्री फाउण्डेशनले सुरुमा घर बनाउन सिन्धु क्रियटिभ नामक ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो । १२ घर डिपिसी गरेपछि सो कम्पनीले कामबाट हात झिक्यो । निर्माणाधीन सबै घर तीनवटा कोठा र एउटा सौचालयको डिजाइनमा बनाइएको छ । एक घर बराबर सात लाख मूल्य लाग्ने भएपछि स्थानीय माझी समुदाय श्वेताको निर्णय कुरेर बसिरहेका छन् ।

    एकीकृत बस्तीको लागि आवश्यक सरकारी कागजात बन्न नापी र मालपोतले ढिलाइ गरेको निर्माण समितिका समन्वयकर्ता यज्ञराज कार्कीले बताए । ‘नायिका श्वेता म्याम् रातदिन यसैमा चिन्तित हुनुहुन्छ,’ पुनर्निर्माण प्राधिकरणका पूर्वसिइओ गोविन्द पोखरेलले माझी बस्तीमा आएर सम्बन्धित निकायलाई दिएको निर्देशन सम्झँदै उनले भने, तर, उहाँको निर्देशनको उल्टो भयो । हामीलाई कसैले सहयोग गरेनन् ।’

    झ्याँडीका भूकम्पपीडित वर्ष दिनभित्र नयाँ घर बन्नेमा ढुक्क थिए । तर, १० महिना बित्नलाग्दा बल्लबल्ल डिपिसी भएकोले आउँदो बर्खामा पनि उही दुःख भोग्नुपर्ने चिन्ताले उनीहरु निराश बनेका छन् ।

    निर्माण सामग्री अभावले काम रोकियो

    निर्माण सामग्री नभएपछि एकीकृत बस्तीको काम प्रभावित भएको छ । भारतबाट झिकाइएको डकर्मीले दिउँसभर काम पाउनसकेका छैनन् । मेलम्ची सीपाघाटमा बनाइएको इन्टरलक ब्लक नभएपछि काम रोकिएको हो । सीमेन्ट र चिप्सबाट बनेको उक्त ब्रिक्स दिनमा एक टिप पनि बन्दैन । तर, दिउँसभर काम गर्न दुई टिप ब्लक आवश्यक पर्छ ।
    रड, सीमेन्ट, बालुवा र गिटीको मूल्य बढेकोले पर्याप्त सामान ल्याउन सकेको छैन । निर्माण सामग्रीको अभावले दुई महिनादेखि काम प्रभावित भएको समितिका अध्यक्ष माझीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस