२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

तातोपानी नाका र मानसरोवर जाने बाटाे खुलाउन जनप्रतिनिधिकाे चासाे, प्रधानमन्त्रीलाई ध्यानाकर्षण

  • २०८० भाद्र ८, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चीन भ्रमणका क्रममा नेपाल-चीनबीचको व्यापारिक तातोपानी नाका पूर्णरूपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताएका छन् ।

    तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोवर पर्यटकीय मार्गका लागि राजनीतिक र कूटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर शुक्रबार बिहान बालुवाटार पुगेको सांसद माधव सापकोटा नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता गरेका हुन् ।

    प्रधानमन्त्रीले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोबर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

    सिन्धुपाल्चोकका जनप्रतिनिधि, तातोपानी क्षेत्रका व्यवसायीहरूसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको बताए ।

    सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरोदेखि लिपिङसम्मको करिब ३० किलोमिटर सरड स्तरोन्नति र आगामी सेप्टेम्बरदेखि नाकाबाट आवतजावत गर्ने सहमति भएको सन्दर्भमा सो रुट प्रयोग गरी मानसरोवर जान कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

    सापकोटासँगै ध्यानाकर्षणपत्र बुझाउन बागमती प्रदेशसभा सदस्य अमृता नेपाल, माईली तामाङ, भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमल्सिना, हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ, उपाध्यक्ष रामहरी कार्की, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटा, महासचिव कृष्ण क्षेत्री, तातोपानी पर्यटन व्ययसायी संघका शेरबहादुर मगर, भूपेन्द्र भण्डारी, ध्रुव थापालगायत बालुवाटार पुगेका थिए ।

    सांसद सापकोटा नेतृत्वको सो टोलीले आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर छुट्टाछुट्टै भेटेर ध्यानाकर्षणपत्र बुझाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस