चौतारा । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वसांसद सुवास कर्माचार्य एमालेमा फर्किने भएको छ। समाजवादीको केन्द्रीय सदस्य समेत रहेका कर्माचार्य एमालेमै फर्किन लागेका हुन्।
कर्माचार्यसहित समाजवादीका नेता गम्भीरलाल श्रेष्ठ, शिवराम भट्टराई, उपेन्द्र तामाङ, जिल्ला सचिव दीपक नेपाल, उपसचिव रवि भण्डारीलगायत अधिकांश नेताहरु एमालेमा फर्किन लागेका हुन्।
उनीहरुलाई साउन २० गते एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको बताइन्छ। कर्माचार्यले समाजवादीका नेताहरूसँग भेटेर अब आफू समाजावादीमा बस्न नसक्ने जानकारी गराइसकेको जनाइएको छ।
कर्माचार्यसहितका नेताहरुलाई एमालेमै फर्काउन सिन्धुपाल्चोक इन्चार्ज गोकुल बास्कोटाले महत्वपूर्ण भूमिका खेलेका छन्। बास्कोटाले अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेलसँग छलफल गरेर सिन्धुपाल्चोकका नेताहरुलाई पार्टीमै फर्काउने गृहकार्य अघि बढाएका हुन्।
सिन्धुपाल्चोकमा पहिला शक्ति रहेको एमाले पार्टी विभाजनपछि निरन्तर ओरालो अवस्थामा छ।
प्रतिक्रिया दिनुहोस