खबरज्योती
४ चैत्र २०७४, सिन्धुपाल्चोक ।
चीनसँग जोडिएको तातोपानी भन्सार नाकाको पुनःनिर्माणका लागि चीनले गर्ने सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै तातोपानी नाका पुनः सञ्चालन हुने आशा व्यक्त गरिएको छ ।
२०७२ वैशाखको भूकम्पपछिको पुर्ननिर्माणमा चिनियाँ सहयोगअन्तर्गत तातोपानी भन्सार नाका र जिल्ला अस्पतालको पुर्ननिर्माण सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार तातोपानी भन्सार नाका पुनःनिर्माणअन्तर्गत भवन मर्मत तथा व्यापार क्षमता अभिवृद्धि गरिनेछ । यो सम्झौताअनुसार पुर्ननिर्माणको काम अघि बढेमा एक वर्षभित्रमा तातोपानी व्यापार नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
काठमाडौँदेखि तातोपानी नाकासम्मको अरनिको राजमार्गको मर्मत तथा विस्तार गर्न यसअघि दुवै देशबीच सम्झौता भई काम सुरु भइसकेको छ । सिन्धुपाल्चोक जिल्ला अस्पताल पुर्ननिर्माणअन्तर्गत अत्यावश्यक स्वास्थ्य उपकरणसहितको ३९ शैया स्थापना गरिनेछ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट अर्थसचिव शंकरप्रसाद अधिकारी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यू होङले सम्झौतापत्रमा हस्ताक्षर गरे । हस्ताक्षरपछि अर्थसचिव अधिकारीले भूकम्पपछिको पुनःनिर्माणमा चीनले गरेको सहयोगको सराहना गर्दै सहयोग निरन्तरताका लागि आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस