२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

राजकुमारको कृषि कथा- खाडीबाट रित्तो हात फर्किए, अहिले गाउँमै कमाउँछन् मासिक तीन लाख

  • २०८० अषाढ २४, आईतबार मा प्रकाशित १ साल अघि
  • असार २४, २०८०

    मेलम्ची । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि ।

    सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् ।

    वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेसामा आकर्षित हुनुभएको हो । विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकाकालेका उनको गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् ।

    लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उहाँ कृषि पेसामा आकर्षित भएको बताउँछन्। “आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?”, उनले भने।

    देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे। र, उहाँ मलेसिया हुइँकिए।

    उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन्।

    “मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु”, उनले भने। मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए। स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनको मनबाट हटेन । र, फेरि उहाँ कतार गए।

    कतारमा उनले विमानस्थलमै काम पाए। तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उनी फेरि स्वदेश नै फर्किए।

    घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे दुबई गए। दुबईमा पेट्रोलपम्पमा काम पाए।

    तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए। विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कँदा जम्मा पाँच लाख लिएर फर्किएको बताउँछन्।

    ७५ लाखको लगानी

    गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर रु ७५ लाखको लगानी रहेको बताउँछन्। दूध बोक्नलाई बोलेरोसमेत किनेका उनले लक्ष्मी बैंकबाट रु ६० लाख ऋण लिएको बताउँछन्।

    “मैले लक्ष्मी बैंकबाट मात्रै रु ६० लाख ऋण लिएको छु । रु ३५ लाखको वस्तुमात्रै छन्”, उनले भने। सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउँछन्।

    “सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो”, उनले भने। अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उहाँको हिम्मतले आज सफलता र खुसी बनाएको छ ।

    विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक रु तीन लाख आम्दानी गर्छन्। गाईवस्तुको आहारबाहेक उहाँको मासिक रु डेढ लाख बच्छ ।

    “महिनामा रु तीन लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि”, उनले भने। पैसा कमाउनकै लागि खाडी जानु नपर्ने सुनाए। जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उी सम्झन्छन्।

    आफ्नै उत्पादन आफ्नै व्यापार

    राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उहाँ दूध बेच्ने पनि गर्छन्। उनको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उहाँले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन् ।

    उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उनलाई छैन । दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उहाँको गाई फार्मबाटै उहाँलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट उहाँ पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउँछन्।

    जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष सङ्घर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौँका गल्ली–गल्लीमा सङ्घर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनको मुहारमा खुसी छाएको हो ।

    सुरुमा रु पाँच लाख लगानी गरेर कुखुरापालनसमेत गरेका उनी तार र हतास गर्न नहुने बताउँछन्। उनी सफलता मानिसको पछि–पछि आउने गरेको बताए। “हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ”, उनले भने। रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस