खबरज्योति
२० पौष २०७४, सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिका– ८ की सम्झना तामाङ वैदेशिक रोजगारीको सिलसिलामा दुवई गएकी थिईन् । तर एक वर्ष पहिलेदेखि सम्पर्कविहिन छिन् ।
धन कमाउन गएकी छोरी सम्पर्कमानै नभएपछि उनको परिवार पीडामा छ । ‘पीडा माथी पीडा थपियो’, सम्झानाका बुबा टुल्कु तामाङले भावविह्ल हुँदै भने– ‘दुइटी छोरी भुइँचालोले लग्यो, एउटी विदेशमै हराई ।’ तामाङको परिवारमा ७ जना थिए । तीन छोरी र दुई छोरासहित । अहिले उहाँसँग दुई जना छोरा मात्रै छन् ।
दुई छोरी सोममाया र सानुमायाको भुइँचालोमा निधन भयो । छोरीको मृत्युको चोट नसम्हालिँदै विदेश गएकी छोरी सम्पर्कमा नहुँदा उनी छटपटीमा छन् ।
उनको छोरी सम्झना दुवई गएको ७ वर्ष पुग्यो । ‘पोहोरसम्म छोरीले घरमा फोन गर्दै थिइन्’ तामाङले भने– ‘तर सम्पर्कविहिन भएको एक वर्ष भयो ।’ कुनै निकायले आफ्नो छोरीको खोजविन गरिदिन्छन् कि भन्ने आशा मात्र छ तामाङसँग । उनी भन्छन्– ‘कसैले खोजीदिए म धन्य हुने थिएँ, उसको मुख हेर्न मन छ ।’
सम्झना २०६८ तिर काठमाडौं जोरपाटीकी विमला श्रेष्ठ मार्फत दुवई गएकी हुन् । दुवई गएकी छोरीसँग टुल्कुले कुरा गरेनन् । आमा हुँदा आमालाई फोन गर्थिन् छोरीले । अहिले न श्रीमतीसँगै छिन न छोरी सम्पर्कमा छिन् ।
छोरी गएको १ वर्षपछि टुल्कुकी श्रीमती पनि कुवेत गइन् । विदेश गएकी श्रीमतीले पनि टुल्कुलाई वास्ता गरिनन् । ‘गाउँमा अरुलाई त फोन गर्दि रैछिन मलाई चाहिँ फोन गरेको छैन ।’ टुल्कुले भने । छोरी सम्पर्कविहिन अनि श्रीमतीले वास्ता नगरेपछि एक्लै भएका टुल्कुलाई २०७२ वैशाखको भुईचालोले थप पीडा दियो । उनको दुई छोरीको भुईचालोमा निधन भयो ।
भुईचालो पछि उनको श्रीमती घर आईन् । तर चार महिना बसेर फर्किन् । त्यसपछि न श्रीमतीको फोन आयो न त छोरीको नै । एक वर्ष अघिसम्म सम्झनाले कुवेतमा भएकी आमालाई फोन गर्थिन् । एक वर्ष अघि सम्झनाले फोटो र भाई बहिनीकालागि लुगा पठाइदिएको स्मरण गर्छन् तामाङ । ‘लुगा र फोटो पठाएपछि ऊ बेपत्ता भई,’ तामाङ्ले भने– ‘त्यसपछि न फोन आयो, न केहि खबर आयो ।’
पहिला फेसबुकमा गाउँबाट विदेश जानेहरुसँग कुरा गरिरन्थिन् सम्झना । तर अहिले उनले आमालाई फोन पनि गरेकी छैनन् । गाउँका साथीहरुलाई पनि फेसबुकमा ब्लक गरेकी छिन् । त्यसैले अहिले सम्झना कस्तो अवस्थामा छिन् कसैले पत्तो लगाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस