खबरज्योति
२२ मंसिर २०७४, सिन्धुपाल्चोक ।
‘हेविवेट’ निर्वाचनको रुपमा लिईएको सिन्धुपाल्चोकको पछिल्लो मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धनलाई जीत हाँसिल गर्न निक्कै सकस देखिएको छ ।
प्रतिनिधि सभा १ र २ को मतगणना जारी छ । शुक्रबार साँझ ५ बजे सार्वजनिक भएको मत परिणामअनुसार प्रतिनिधि सभा १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अग्निप्रसाद सापकोटा ३ हजार ८ सय ७५ मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार सापकोटाले १९ हजार ८ सय ७८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १६ हजार ३ मत ल्याएका छन् ।
यो क्षेत्रको अहिलेसम्म ३ हजार ४ सय ९४ मत गणना गरिसकिएको छ । जसमध्ये २ हजार ५ सय ३८ म तबदर भएको मूख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । निर्वाचन क्षेत्र नं. १ मा ७८ हजार ७ सय ४९ खसेको थियो ।
बस्नेतको पक्कड मानिएको बाह्रविसे, घुम्थाङ लगाएतको मतदान स्थलको मत गनिसकिएका कारण जीत आफ्नो पक्षमा पार्न उनलाई निक्कै सकस हुने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
त्यस्तै प्रतिनिधि सभा २ मा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङ २ हजार ६ सय ६ मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार तामाङले १७ हजार ९ सय ४७ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी राप्रपा प्रजातान्त्रिकका अध्यक्ष समेत रहेका उम्मेदवार पशुपति सम्शेर राणाले १५ हजार ३ सय ४१ मत ल्याएका छन् ।
प्रतिनिधि सभा २ मा अहिलेसम्म ३७ हजार ५ सय १५ मत गणना गरिसकिएको छ । जसमध्ये २ हजार ९ सय १० मत बदर भएको मूख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ । यो क्षेत्रमा ७७ हजार ९ सय ९७ मत खसेको छ ।
प्रतिक्रिया दिनुहोस