जेठ २९, २०७९
चाैतारा । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी भन्सार कार्यालयमा रासायनिक मल रोकिएको विषयमा चासो व्यक्त गरेका छन्।
केही दिन यता तातोपानी भन्सारमा ९ हजार ९ सय ७० बोरा (५० मेक्ट्रिक्टन) मल रोकिएको सन्दर्भमा सभामुख सापकोटाले तातोपानी भन्सार प्रमुख नारद गौतम मार्फत जानकारी लिएका हुन्।
गौतमले भन्सार कार्यालयका कारण मल नरोकिएको स्पष्ट गर्दै कृषि सामग्री कम्पनीका तर्फबाट कार्य अघि बढाइनु पर्ने बताए।
उनले भन्सार कार्यालयमा रहेको मल बाहिर लान कृषि सामग्री कम्पनी लिमिटेडका तर्फबाट रासायनिक मलको स्वतन्त्र रुपमा गुणस्तर परिक्षण गरी त्यसको प्रतिवेदन प्राप्त हुनु पर्ने जानकारी दिए।
कृषि सामग्री कम्पनी लिमिटेडले भने अदालतको आदेशलाई आधार मानेर काम अघि बढाउने जानकारी दिएको छ। सुचना अधिकारी पुन्य प्रसाद उपाध्यायले अदालतको पत्र पछि काम अघि बढाउने जानकारी दिए।
सरकारलाई ध्यानाकर्षण
सभामुखले किसानलाई मल उपलब्ध गराउन सरकारका नाममा ध्यानाकर्षण गराएका छन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले किसानले बाली लगाउने समयमा मल प्राप्त गर्न नसकेको भन्दै सभामुखबाट सरकारका नाममा रुलिङको माग गरेका थिए।
सभामुख सापकोटाले आइतबारको प्रतिनिधिसभा बैठकमा कृषकहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
कृषकहरूलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारलाई सभामुखले ध्यानाकर्षण गराए।
‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ‘ उनले भने, ‘यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।’
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए।
प्रतिक्रिया दिनुहोस