जेठ १८, २०७९
चाैतारा । सिन्धुपाल्चोकको तेम्बाथाङलाई हाम्रो देशको दोस्रो कर्णाली भनिन्छ । यहाँ मानिसको दुःख भनिसाध्य छैन । वैशाख ३० गते बिहानभर हिँडेर वारि गुम्बाथाङमा भोट हाल्न आएका स्थानीय उही दिन हतारहतार घर फर्किए । किनकि, यो वर्षको सुरुवातबाटै वर्षात् भयो ।
वर्षाले नेसम खोलामा बाढी आयो भने घर पुग्न नसकेर बीचबाटोमा अलपत्र परिने चिन्ताले उनीहरू हतारहतार गाउँ फर्किए । त्यसयता नेसमपारिका चार गाउँ तेम्बाथाङ, तेगा, दिपु र निमडोलका स्थानीय वडा कार्यालय फर्किएका छैनन् । चट्टाने पहरो र घनाजंगलको बीचमा कोरेको गोरेटो बाटोबाट मुस्किलले नेसम खोला पुग्ने उनीहरू झोलुंगेपुलबाट पारि तर्थे । तर, पोहोर सालको बाढीले झोलुंगेपुल बगायो ।
स्थानीयको मिहिनेतले तुइन जडान गरिएको थियो । त्यो पनि लठ्ठा चुँडिएर काम नलाग्ने भयो । त्यसपछि हप्ता दिनको श्रमदानबाट खोलामा काठको फड्के हाले । निरन्तरको वर्षाले खोलामा पानीको सतह बढेर फड्के पुरेको छ । लग्याप जंगलको गोरेटो बाटो पहिरोले पुर्यो ।
नेसम खोलामा हालेको काठको फड्केलाई बाढीले छोप्यो । केही दिनयता तेम्बाथाङका तन्नेरी पनि खोला तर्दा हुन सक्ने जोखिमले वारि आएका छैनन् । अहिले तेम्बाथाङ–गुम्बाथाङ आवतजावत बन्द छ । भर्खरै निर्वाचित जुगल गाउँपालिका– ३ की वडासदस्य मिङमा शेर्पा नेसम खोलाको डरले बैठकमा आउन सकेकी छैनन् ।
दिनदिनै वर्षात् बढेको छ । नेसम खोला उर्लेर आएकाले तेम्बाथाङका कोही मानिस गुम्बाथाङ आउन सकेका छैनन् । उनीहरू प्रत्येक वर्ष असार, साउन र भदौ तीन महिना गाउँबाट अन्यत्र जाँदैनन् । गत वर्ष जेठको अन्त्यसम्म स्थानीयले बर्खा तीन महिनाका लागि खाद्यान्नको जोहो गर्थे ।
तर, यो वर्ष वर्षा छिट्टै सुरु भएकोले खाद्यान्न र अत्यावश्यक घरायसी सामग्री लान सकिएको छैन । पोहोरसाल समयमै खाद्यान्न लगे पनि साउनमै सिद्धिएपछि सदरमुकाम चौतारास्थित नेपाली सेनाले हेलिकोप्टरमा चामललगायत सामग्री तेम्बाथाङ पुर्याएको थियो ।
‘गाउँका मानिससँग भनेको वेला पैसा हुँदैन । यो वर्ष त झन् बाटो र खोलाको डरले केही लान सकिएको छैन,’ स्थानीय मिङमार शेर्पाले भने । सरकारले सहयोग गरेन भने यो वर्ष आलुको भरमा तीन महिना बिताउनुपर्ने अवस्था रहेकाे उनले सुनाए ।
नेसम खोला तर्दा गत साल दुईजना मानिस बगायो । गाउँमा थुप्रै गर्भवती महिला र वृद्धवृद्धा छन् । बिरामी पर्दा उनीहरूलाई उपचार गर्न लाने कसरी हो थाहा छैन । हेलिकोप्टर प्रयोग गर्दा लागेको ऋण तिर्न नसकेको पीडा सुनाउँदै शेर्पाले प्रश्न गरे, ‘चामल किन्न पैसा नहुनेले बिरामी पर्दा कसरी हेलिकोप्टर झिकाउनु ?’ जेठमा खोला बढेकाले यार्सागुम्बा टिप्न र जडीबुटी संकलन गर्न जाने मानिस पनि गाउँमै रोकिएका छन् ।
पुलको काम अधुरै
तेम्बाथाङवासीको दुःख कम गराउन सरकारले नेसम खोलामा पक्कीपुल हाल्ने प्रयास जारी राखेको छ । तर, यो वर्ष पनि कामले गति लिएन ।
निर्माणस्थलसम्म भौतिक सामग्री पुर्याउने बाटो खराब भएकोले पुल बन्न ढिलाइ भएको हो । एकापट्टिको जग उठाइएको छ । अर्कोपट्टिको जग हाल्न पहरोमा ब्लास्टिङ गर्नुपर्छ । सो कार्यका लागि गाउँपालिका र नेपाली सेनाको सहयोग आवश्यक पर्छ । स्थानीय निर्वाचनको क्रम र नवनिर्वाचित जनप्रतिनिधिले भर्खर कार्यभार सम्हालेकोले बर्खाभर काम हुने अवस्था छैन ।
नवनिर्वाचित जुगल गाउँपालिका अध्यक्ष रेसम स्याङ्बोले बर्खामा काम गर्न कठिन हुने बताए । ‘जतिसक्दो छिटो पुल निर्माण गर्ने प्रयत्न हुन्छ,’ उनले भने, ‘गोरेटो बाटो पनि पहिरोले पुरेकोले निर्माण सामग्री लान सकिएको छैन ।’
तेम्बाथाङमाथि जुगल हिमालको फेदीमा पर्यटन प्रवर्द्धन गर्ने भनेर दुई करोड बजेटमा पर्यटनसम्बद्ध संस्थाले बाटो बनाइरहेको छ । तर, जनता हिँड्ने गोरेटो बाटो फराकिलो पार्न कसैको ध्यान गएको छैन । नेसम खोलाआसपास निर्माणाधीन अवस्थामा रहेका तीन हाइड्रोपावर कम्पनीले पनि आफ्नो साइटमा पुग्ने सडक बनाएका छन् । तेम्बाथाङवासीलाई सधैँ दुःख छ । नयाँपत्रिकाबाट
प्रतिक्रिया दिनुहोस