जेठ ११, २०७९
चाैतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अज्ञात किराले बाली सखाप पारेपछि किसानहरू चिन्तित भएका छन् ।
हुर्कँदै गरेको आलु, सिमी र मकै बाली किराले सखाप पारेपछि किसानहरू चिन्तित भएका हुन् ।
जिल्लाकै कर्णाली भनेर चिनिने सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा न ६ हगामकी किसान म्हेन्दु माया तामाङ किराले बाली सखाप पारेपछि चिन्तामा छन् । आउने दिनहरू भोकै बस्नु पर्ने हो कि भन्ने चिन्ताले सताएको उनी बताउँछिन्।
जुगल गाउँपालिकाका वडा न ६ र ७ मा अज्ञात किराको प्रकोप बढी देखिएको छ । बाँकी वडाका खेतबारीहरूमा लगाएका अन्न तरकारी बालीमा पनि अज्ञात किराले उत्तिकै क्षति पुर्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विक बताउँछन् ।
तल्लो भेगतिर मकै र माथिल्लो भेगतिर आलु र सिमी लगायतका बालीमा किराको प्रकोप देखिन थालेपछि गाउँपालिकाले कीटनाशक औषधी छर्कन सुरु गरेको बताए।
अज्ञात किराले मकै बालीमा भन्दा पनि गोडने बेलाको आलुमा बढी क्षति पुर्याएको कृषि शाखाका प्रमुख लालबहादुर बयाक बताउँछन्। सुरुको चरणमा बालीहरूमा क्षति धेरै भए पनि अहिले भने केही नियन्त्रणमा आइसकेको उनकाे भनाइ छ।
आलु र अन्न खेतीबाट नै आफ्नो जीवन निर्वाह गर्दै आइरहेको जुगलका स्थानीयहरूको अन्य कुनै आयस्रोत छैन । त्यसैले पनि हुर्कँदै गरेको आलु, मकै लगायतका अन्य बाली किराले खाएर सखाप हुनुभन्दा अगाडि नै नियन्त्रण र रोकथामका लागि स्थानीय सरकार गम्भीर हुन पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस