खबरज्योति
१७ मंसिर २०७४, सिन्धुपाल्चोक ।
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा आपाङ्ग भएका व्यक्तिको पनि ठूलो योगदान रहेको उल्लेख गर्दै उनले सरकार अपाङ्गको हितका लागि कटिबद्ध रहेको दृढता व्यक्त गरे ।
उनले अपाङ्ता भएका व्यक्तिलाई सरकारले सदैव विशेष ध्यान दिईरहेको बताए । छब्बिऔँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आईतबार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतले निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने बताए । उनले भने– ‘अब देश समृद्धिको बाटोमा अगाडि बढिसकेको छ ।’
उनले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने भएकाले विवेक पुर्याएर मतदान गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा महिला विकास अधिकृत सन्ध्या सिंहलगायतले बोलेकी थिईन् ।
‘सबैका लागि दिगो र समतामूलक समाज उन्मूख रुपान्तरण’ भन्ने नाराका साथ अपाङ्ता भएका व्यक्तिहरुको २६ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवस आईतबार सिन्धुपाल्चोकको चौतारामा पनि मनाईएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रममा निमित्त महिला विकास अधिकृत नानीमाया बस्नेतले महिला विकास कार्यालय महिला, बालबालिका र अपाङ्गताको क्षेत्रमा काम गर्ने निकाय भएतापनि अपाङ्गताको क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको भन्दै आगामी दिनहरुमा स्थानीय तहबाटै अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा काम गर्नको लागि पहल गर्ने बताईन् ।
त्यस्तै कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको नगर समिति सदस्य सागर परियारले नगरपालिकाले अपाङ्गता भएको व्यक्तिहरुको अधिकारको निमित्त सधैं काम गरिरहेको उल्लेख गरे । ‘म आफैं पनि अपाङ्गता भएको व्यक्ति हुनाले अपाङ्गताको अधिकारको क्षेत्रमा नगरपालिकामा विशेष जोड दिईरहेको छु’, उनले भने– ‘अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले दिने सुविधा नगरपालिकाबाट सहज रुपमा दिनको लागि पनि विशेष पहल भईरहेको छ ।’
त्यस्तै पुर्नस्थापना र विकासका लागि स्रोत केन्द्रका जिल्ला संयोजक केशवप्रसाद अधिकारीले आफूहरु अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा काम गरिरहेको बताउँदै जिल्लाका सबै सरकारी तथा गैरसरकारी निकायहरु अपाङ्गमैत्री संरचना नभएको र जिल्लाका सबै विद्यालयहरु अपाङ्गमैत्री नभएकोले त्यस्ता क्षेत्रहरु अपाङ्गमैत्री बनाउन सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोष, ह्याण्डिक्याम्प इन्टरनेशनल, पुर्नस्थापना र विकासका लागि स्रोत केन्द्र लगायतका संघसंस्थाहरुका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा अपाङ्गतासँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस