बैशाख २४, २०७९
चाैतारा । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा माओवादी केन्द्रका वडाध्यक्ष र सदस्यका उम्मेदवारमाथि एमालेका कार्यकर्ताले सामूहिक आक्रमण गरेका छन्।
शुक्रबार घरदैलो अभियानमा पुगेका वडा नं १० का वडाध्यक्ष उम्मेदवार विनोद आचार्यसहितको टोलीलाई एमाले कार्यकर्ताले सामुहिक आक्रमण गरेका हुन्।
गाउँपालिकाको झोलुङ्गे माझी बस्तीमा मत माग्ने क्रममा एमालेका वडाध्यक्ष उम्मेदवार समेत रहेका बलबहादुर माझीसहितको टोलीले आक्रमण गरेको हो। भौतिक आक्रमणको भत्र्सना गर्दै इन्द्रावती गाउँपालिका कमिटी, माओवादीले कानुनी कारबाहीको माग गरेको छ।
इन्द्रावती पार्टी समितिका सचिव दिपक न्यौपानेद्धारा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘इन्द्रावती गाउँपालिका स्थित वडा नम्बर १० झोलुङ्गे माझी बस्तीमा नेकपा माओवादी केन्द्रकाका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाका अध्यक्ष, सदस्यहरु सहितको टोली चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो अभियानमा जाने क्रममा सोही गाउँका स्थायी बासिन्दा श्री सूर्योदय आधारभुत बिद्यालयका प्रधानाध्यापक साथै सोही वडाका एमाले वडा अध्यक्ष समेत रहेका बल बहादुर माझी लगायतको एक आपराधिक जत्थाले नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार बिनोद आचार्य साथै अन्य सदस्यहरु र कार्यकर्ताहरु माथि गरिएको भौतिक आक्रमण प्रति घोर भर्त्सना गर्दछ । साथै कुनै पनि दलले मत माग्ने संबैधानिक हक बिपरितको निन्दनीय कार्य गर्ने दोषीलाई तत्काल कानुनी कारबाहीको माग गर्दछौं।’
इन्द्रावती गाउँपालिकामा माओवादी केन्द्रबाट ठूलोबाबु श्रेष्ठ, कांग्रेसबाट विकास लामा र एमालेबाट झम्क नेपाल अध्यक्ष पदका उम्मेदवार छन्।
प्रतिक्रिया दिनुहोस