नेवारी परिकार योमरी बनाउने विधि :
योमरी बनाउन चामललाई पिठोमा परिणत गरिन्छ । चामललाई नेवार भाषारनेपाल भाषामा पोरप्व भनिन्छ । चामलको पिठो पोचुंः चुं भन्नु चूर्ण अनुकण । चामल लस्सादार हुनुपर्छ । पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचुन चामलले लिएको छ ।
अत्यन्त मिहिन पिठो शुद्ध घिउमा थोरै हरक दिइन्छ । ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछिन्छ पोचुं । मस्केर मुछिनुपर्छ, मुछिन्छ उस्तै। हावालै प्रत्यक्ष सुस्क पार्नबाट बचाउन सफा मलमल कपडाले छोपिनुपर्छ । मुछिएको आलो पिठोलाई आकार दिनुपर्छ । पिठोलाई आकार दिँदा योमरीको रूप बन्छ। योमरी बनाउने काम सिपालु काम हो । सीपविना योमरी बन्दैन । जुन आकारको योमरी तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ। पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औंला शुद्ध खानेतेलले रसाइ पिठो छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ । बीचमा झन्दै वाइन ग्लासको जस्तै खोक्रो ठाउँ बन्न पुग्छ । त्यसै रित्तो ठाउँमा तिलका पिठो र लेदो चाकुको मिश्रण हालिन्छ। त्यस्तो आकारको योमरीलाई ‘बायो’ भनिन्छ । ‘बायो’ आकार विम्बात्मक छ। ‘बायो’ तान्त्रिकमात्र नभएर शारीरिक अङ्गबोधक पनि ठहर्छ। प्रशङ्गवश बायो बाबुको गुप्ताङ्गको विम्बबोधक बन्छ ।
योमरीको भित्री भाग :
योमरीको अर्को आकार त्रिकोणात्मक हुन्छ । त्यसलाई ‘मायो’ भनिन्छ । बनाउने तरिका र प्रविधि एकै हो । त्रिकोण पनि विम्बबोधक बन्छ । मायोभित्र तिलचाकु मिश्रण हालिन्न । त्यसमा पिँधेको मासका बाक्लो लेदो डल्लो भरिन्छ। मासको सट्टा मुगी पनि प्रयुक्त हुन्छ र गरिन्छ । मुगीफल सबैका लागि उपयुक्त हुनसके हुन्छ । कुनै पनि शारीरिक अवस्थालाई सुपाच्य रहन्छ । अन्नरभात खान नहुने अवस्थामा पनि हामी सिङ्गो मुगी बेस्कन पकाएर मुगीसुपररस पिउँछौँ । मायोको तीनकुने आकार तन्त्रमा पुगेर योनि विम्ब बन्छ ।
१७ मंसिर २०७४ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस