खबरज्योति
१७ मंसिर २०७४, सिन्धुपाल्चोक ।
आज योमरी पुर्णिमा, नेवार समुदायले धुमधामका साथ योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पूजा गर्ने चलन छ ।
आजको दिनलाई लक्ष्मी पूजाको रुपमा पनि मनाउने गरिन्छ । यसरी पूजा गरेमा वर्षभरि अन्न अभाव नहुने विश्वास छ । जाडोमा मास र चाकु लगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।
योमरी पुर्णिमा अवसरमा जिल्लाका नेवार समुदायले विभिन्न स्थानमा सांस्कृतिक र्यालीसहितको कार्यक्रम गर्दैछन् । तौथली र जलविरेमा नेवार समुदायले विशेष कार्यक्रमको आयोजना गरी यो पर्वलाई मनाईरहेका छन् ।
त्यस्तै आजै ज्यापू समुदायले १४ औ राष्ट्रिय ज्यापू दिवस पनि मनाउँदैछन् ।
हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली पर्व पनि आजै मनाउँदैछन् । सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँछन् ।
यसैगरी किरात समुदायले उधौली पर्व मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा छ । पूजापछि साकेला नाचिन्छ ।
वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ ।
प्रतिक्रिया दिनुहोस